बुटवल,१२ भदौ ।

नेकपा एमालेमा समानान्तर कमिटी सञ्चालन गर्दै आएको माधव नेपाल पक्षको रूपन्देही जिल्ला कमिटीले सर्वसम्मतरुपमा माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा रूपान्तरित हुने निर्णय गरेको छ।

शुक्रबार बुटवलमा सम्पन्न समानान्तर कमिटीको बैठकले सिङ्गो कमिटी नेकपा (एकिकृत समाजवादी) मा रूपान्तरित हुने निर्णय गरेको हो।

समानान्तर कमिटीका अध्यक्ष राजु गुरूङको अध्यक्षतामा बसेको बैठकमा सहभागी सदस्यले केपी ओली नेतृत्वको एमालेले देश, जनता र कम्युनिष्ट आन्दोलनलाई धोका दिएका कारण एमालेबाट बिद्रोहको विकल्प नरहेको निष्कर्ष निकालेका छन्।

बैठकले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न र राष्ट्रियता जोगाउन सर्वसम्मतरुपमा एकिकृत समाजवादी पार्टीमा रुपान्तरित हुने निर्णय गरेको साविक एमाले रुपन्देही समानान्तर जिल्ला कमिटीका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।

बैठकमा साविक एमाले उपाध्यक्ष पुरुषोत्तम घिमिरे, सिद्धार्थनगर नगरपालिकाकी उप मेयर उमा काफ्लेलगायतले क्रान्तिकारी रुपान्तरणका लागि एकीकृत समाजवादीमा समाहित हुनुको विकल्प नभएको बताएका थिए ।

यसअघि माधव नेपाल पक्षमा लागेका सिद्धार्थ नगरपालिकाका नगर प्रमुख हरि अधिकार र तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरी चौधरीले कार्यव्यस्तताका कारण बैठकमा उपस्थित हुन नसके पनि आफूहरुको समर्थन नेकपा (एकिकत समाजवादी)मा रहेको सन्देश पठाएको अध्यक्ष गुरुङले बताए। एमाले पार्टी विभाजनमा रुपन्देहीका अधिकांस वडा अध्यक्षहरु एकीकृत समाजवादीमा आउन तयार रहेको अध्यक्ष गुरूङकाे दाबी छ ।