बुटवल,१४ साउन ।
आइतबारदेखि सम्पर्क बिहिन भएकि जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेंगामगर पार्टीको सम्पर्कमा आएकि छन् ।
प्रदेश सभा सदस्य ढेंगामगर बिहीबार दिउँसो बुटवल स्थित जनता समाजवादी पार्टीकाे लुम्बिनी प्रदेश कार्यालयमा उपस्थित भएको पार्टीका लुम्बिनी प्रदेश समितिका मुख्य सचिव यज्ञ पाेखरेलले जानकारी दिए ।
परिवारका सदस्य बिरामी परेकाे तनावका कारण आफू कसैको सम्पर्कमा नआएको प्रदेश सभा सदस्य ढेगामगरले पार्टीलाई जानकारी गराएको पाेखरेलले बताए ।
आइतबार बिहान साढे ११ बजेदेखि सम्पर्कविहीन भएर साेमबार बिहान ५ मिनेट मात्रै सम्पर्कमा आएकी ढेंगा मगर पुनः सम्पर्कबिहिन भएकी थिइन् ।
जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता सहसराम यादवले पनि पार्टीको संसदीय दलको प्रमुख सचेतक समेत रहेकी प्रदेश सभा सदस्य ढेंगा मगर पार्टीको सम्पर्कमा आएकाे पुष्टि गरे ।
लुम्बिनी प्रदेश सभामा शंकर पाेखरेल नेतृत्वको सरकार अल्पमत कि बहुमत भन्ने अंकगणितकाे चर्चा सुरु भएका बेला एक जना प्रदेश सभा सदस्य सम्पर्कबिहिन हुँदा विभिन्न अडकलबाजी गरिएको थियोे ।
केही दिनदेखि कपिलवस्तुकाे तौलिहवास्थित एक होटलमा बस्दै आएकी उनी आइतबार बिहान साढे ११ बजेदेखि पार्टीसँग सम्पर्कविहीन भएकी थिइन् ।
उनी सम्पर्कविहीन भएपछि जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिका मुख्य सचिव यज्ञ पोखरेलले इलाका प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन दिएका थिए ।
पाल्पाबाट समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य भएकी ढेंगा विगतमा काठमाडौंमा होटल व्यवसाय गर्ने गरेको बताइएको छ ।






