बुटवल,२९ साउन ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलाई पक्राउ गर्न बाटो खुलेको छ ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले यादवका सम्बन्धमा यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि उनलाई पक्राउ गर्न प्रहरीलाई कानुनी बाटो खुलेको हो ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको संयुक्त इजलासले उक्त आदेश दिएको हो । यादवले इलाका प्रहरी कार्यालय बेलाटारीसहितका विपक्षीविरुद्ध आफूलाई पक्राउ गर्न जारी गरिएको पुर्जी बदर तथा पक्राउ रोक्न माग गर्दै उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
इलाका प्रहरी कार्यालय बेलाटारीले जिल्ला प्रहरी कार्यालय नवलपरासीलाई पठाएको लिखित जवाफ तथा कागजातका आधारमा यादवलाई पक्राउ गर्न अनुमति माग गरिएको थियो । प्रहरीले माग गरेपछि नवलपरासी जिल्ला अदालतले साउन २० गते यादवलाई पक्राउ गर्न अनुमति दिएको अदालतको आदेशमा उल्लेख छ ।
जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि यादवले आफूलाई पक्राउ नगर्न माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै तत्काल पक्राउ नगर्न भनेको थियो ।
साे मुद्दामा यादवका तर्फबाट वरिष्ठ अधिवक्ता धनजीव शर्मा तथा अधिवक्ताहरू गोकर्णसिंह थापा, महेन्द्रप्रसाद पाण्डे, श्रद्धा सुमन आचार्य र सञ्जिता पौडेलले बहस गरेका थिए । विपक्षी प्रहरी कार्यालयका तर्फबाट उच्च सरकारी वकिल कार्यालय बुटवलका उपन्यायाधिवक्ता हिमानन्द गौतम तथा विपक्षी सोमितकुमार हलुवाईका तर्फबाट अधिवक्ता नसरुल्लाह अन्सारीले बहस गरेका थिए ।
यादवविरुद्ध सरकारी जग्गाको नक्कली कागजात बनाएको विषयमा उजुरी परेकाले प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न खोजेको हो । अब प्रहरीले जिल्ला अदालतबाट प्राप्त पक्राउ अनुमतिका आधारमा उनलाई पक्राउ गर्न सक्नेछ ।






