नवलपरासी,३० साउन ।
नवलपरासी पश्चिमको सुस्तामा बाढी पस्दा झन्डै ४० घर डुबानमा परेका छन् ।
नारायणी नदीमा आएको बाढी नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ मा रहेको थारु टोलको बस्तीमा पस्दा ४० घर डुबानमा परेका हुन् ।
स्थानीय बासिन्दाले निर्माण गरेको अस्थायी बाँध नारायणीको बाढीले भत्काएपछि बस्ती जलमग्न बनेको हो । बाढीका कारण स्थानीयवासीका केही घरका अन्नपात र लत्ताकपडा बगेका छन् भने माटो र फुसका कच्ची घरहरू डुबानमा परेका छन् ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अवरोधका कारण नदी किनारको १३२ मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण हुन नसक्दा सुस्तावासीले हरेक वर्ष बाढी र कटानको समस्या झेल्दै आएका छन् ।
यसैबीच अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही ठाउँमा तथा सुदुरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा र कोशी प्रदेशको पहाडी भूभागका १/२ ठाउँमा मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै बागमती प्रदेशका १/२ ठाउँमा मुसलधारे पानी परिरहेको छ ।
पछिल्लो ३ घण्टामा काठमाण्डौको कपन र सिन्धुपाल्चाकको बोल्देमा ५० मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ भने जाजरकोटमा ४० मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ ।
आज राति पनि बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका १/२ ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । ठूलो पानी पर्दा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम हुन्छ ।






