काठमाडौँ,३० साउन ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरको निकोसेरास्थित घर वरपर प्रहरी तैनाथ गरिएको छ ।
प्रसाईं लघुवित्त तथा सहकारी पीडितहरूको आन्दोलनमा सहभागी हुने सूचनाका आधारमा उनलाई घरमै राेक्न नेपाल प्रहरीको टोली त्यहाँ पुगेको जनाइएको छ ।
आन्दोलनमा सहभागी भएर प्रसाईंले स्थिति भड्काउने सक्ने आङ्कलन गरेर उनलाई घरमा नै रोक्नका लागि प्रहरी त्यहाँ पुगेको प्रहरी स्रोतको भनाइ छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको अगुवाइमा मधेसका विभिन्न जिल्लाबाट २३ दिन पैदल यात्रा गर्दै लघुवित्त तथा सहकारी पीडितहरू काठमाडौँ आइपुगेका छन् ।
उनीहरूले शुक्रबार राति राष्ट्रिय मानव अधिकार आयोगको सडकमा सुतेर धर्ना दिएका थिए । आफ्ना माग पूरा नभएसम्म र सरकारको तर्फबाट वार्ताका लागि कोही नआएसम्म आन्दोलन स्थलबाट नहट्ने अडान लिँदै उनीहरूले आयोगको गेट अगाडि सडकमा रात बिताएका थिए । उनीहरूले आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गरिरहेका छन् ।
साे आन्दोलनमा प्रसाईं पनि सहभागी हुने तय भएको थियो ।
तर, शनिबार प्रसाईं घरबाट निस्किुनअघि नै प्रहरी पुगेको हो । प्रहरीले घरबाट निस्किन नदिएको प्रसाईं निकट स्रोतले जनाएको छ ।
भक्तपुरको ठिमीस्थित प्रसाईंको घर अगाडि प्रहरीको भ्यान राखिएको छ भने उनको घर वरिपरि प्रहरी पनि परिचालन गरिएको छ ।






