गुल्मी,१३ साउन ।
गुल्मीमा भएको जीप दुर्घटनामा परि मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा गुल्मीको चन्द्रकोट गाउँपालिका–४ का वर्ष ४३ का तेजबहादुर खत्री, सोही गाउँपालिका–५ का वर्ष ३६ का रेशम कार्की र रेसुङ्गा नगरपालिका–२ बाख्रेछेंडा बस्ने वर्ष ६२ की सुनिता विक रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

दुर्घटनामा सात जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाकाे चन्द्रकोट गाउँपालिका–६ की विनिता परियार,चन्द्रकाेट ७ की मुना भण्डारी,चन्द्रकाेट ४ का गगन क्षेत्री,चन्द्रकाेट ५ का जीप चालक बमबहादुर विक, चन्द्रकाेट ८ का सुशील विक, चन्द्रकाेट ७ का गोकुल भण्डारी र रेसुङ्गा नगरपालिका–२ की रमिला भण्डारी रहेका छन् ।
घाइतेमध्ये गोकुल, रमिला र मुनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ भने अन्य चार जनालाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा लगिएको छ । घाइतेमध्ये पाल्पा लगिएका दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नंको जीप बुधबार बिहान ११ बजे मुसिकोट नगरपालिका–४ अन्तर्गत इन्द्रेगौँडाको दोभान नजिकै सडकबाट खसेर दुर्घटना भएको थियो ।