काठमाडौं,३१ साउन ।
नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइराला, गणेशमान सिंह जस्ता नेताहरूलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र कैद गर्न नहुने बताएका छन् ।

पछिल्लो समय बीपी कोइरालाका विचारलाई आफू अनुकूल व्याख्या गर्ने र आफ्नो राजनीतिक आवश्यकता पर्दा मात्रै उनको नाम प्रयोग गर्ने प्रवृत्ति कांग्रेसभित्रै बढेको भन्दै थापाले असन्तुष्टि व्यक्त गरेका हुन् ।

आइतबार राजधानी काठमाडौंमा आयोजित धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले नेताहरूले आफ्ना राजनीतिक निर्णय आफैँ गर्न नसकेर बीपीको नामको सहारा खोज्ने गरेको आरोप लगाए ।

आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’को प्रसंग जोडेर बीपीलाई ढाल बनाउने प्रवृत्तिले बीपीको वास्तविक विचारलाई कमजोर बनाउने उनको भनाइ थियो ।

‘पछिल्लो समयको हाम्रो परम्परा आफूलाई जहाँनिर चाहिन्छ, बीपी कोइरालालाई त्यहाँनिर प्रयोग गर्ने । म अहिले पनि हेरिरहेको छु, सुनिरहेको छु, ठाउँ–ठाउँमा भएका छलफलहरूमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले एकदम व्यापक आइरहेको छ,’ थापाले भने ।

थापाले थपे, ‘नेताहरूले फेरि रातारात बीपीलाई सम्झनुभएको छ । रातारात बीपीलाई सम्झिँदा यस्तो ट्रान्ज्याक्सन यहाँभित्रको अहिले के गर्नु परेको छ, कोसँग मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु परेको छ, आफैँ आएर भन्ने हिम्मत छैन । त्यो हिम्मत नभएपछि कसलाई सम्झने भन्दा बीपीलाई सम्झने ।’

उनलेे बीपी र गणेशमानलाई निजीकरण गर्न नहुनेमा जोड दिए । ‘धेरै प्राइभेटाइज गर्न दिनुहुन्न, बीपी कोइराला वा गणेशमानलाई कसैले यो घरभित्र कैद गर्न दिनुहुन्न,’ थापाले भने ।

आज बीपीको अपव्याख्या भइरहेको भन्दै थापाले बीपीको आह्वानमा आन्दोलनमा होमिएका धर्म गौतमजस्ता पुराना पुस्ताका अभियन्ताहरूले वास्तविकता बुझाउनुपर्ने बताए । नयाँ पुस्तासँग बीपीसँगको प्रत्यक्ष अनुभव नभएकाले कहिलेकाहीँ कसैले गलत कुरालाई पनि ‘बीपीले यसो भन्नुभएको थियो’ भन्दा पत्याउनुपर्ने बाध्यता रहेको उनले बताए ।

‘हामीसँग त्यो आधिकारिकता हुँदैन, कहिलेकाहीँ कुराकानी गर्न ३ जना बस्यो भने बीपीले यसो भन्नुभएको थियो भन्नुहुन्छ, अब कहीँ पढेको पनि छैन, सुनेको पनि छैन, भन्नुभएको छ भनेपछि ‘हो कि’ भन्नुपर्‍यो । त्यसैले साँच्चिकै त्यो बेलामा जो अभियन्ताहरू थिए, उहाँहरूले बीपीको बारेमा भनिदिनुपर्छ,’ उनले भने।

बीपीको राजनीतिक जीवन लामो र निरन्तर विकसित भएको चर्चा गर्दै थापाले लोकतन्त्र र सामाजिक न्यायप्रतिको उनको मूल प्रतिबद्धता कहिल्यै परिवर्तन नभएको बताए । बीपीका आर्थिक विकास, उत्पादन, ग्रामीण विकास, साना उद्योग र प्रविधिको प्रयोगसम्बन्धी धारणालाई अहिलेको विकास बहस र कृत्रिम बुद्धिमत्ताको सन्दर्भसँग समेत जोडेर अध्ययन गर्न सकिने उनले स्पष्ट पारे ।