बुटवल,३१ साउन ।
आफ्नै विद्यार्थीलाई अश्लील भाव झल्किने म्यासेज पठाएको आरोपमा पश्चिम नवलपरासीमा एक विद्यालयका प्रिन्सिपल पक्राउ परेका छन् ।

पश्चिम नवलपरासीको सुस्ता–१, सिङाहास्थित न्यू लाइफ इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल भरत न्यौपाने पक्राउ परेका हुन् ।

उनलाई बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई फेसबुक म्यासेन्जरमार्फत अश्लील भाव झल्किने सन्देश पठाएको आरोपमा ४६ वर्षीय न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित पक्षले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बेलाटारीले न्यौपानेलाई शनिबार राति पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक रेशमलाल पौडेलका अनुसार पक्राउ परेका न्यौपानेलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि रातोपाटीलाई बताए ।

घटनासम्बन्धी म्यासेज सामाजिक सञ्जालमा समेत सार्वजनिक भएपछि घटना बाहिर आएको थियो ।