बुटवल,१३ साउन ।
मुख्यमन्त्री नियुक्ति र सपथग्रहणकाे बिषयलाई लिएर बिवादमा तानिएका लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश प्रमुख धर्मनाथ यादवकाे बिदाई भएको छ ।
उनलाई बुधबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री शंकर पोखरेल लगायत प्रदेश सरकार र प्रदेश प्रमुखको कार्यालयका अधिकारीहरूले बिदाई गरेका हुन् ।
झण्डै साढे २ वर्ष प्रदेश प्रमुखकाे कार्यभार सम्हालेर बाहिरिएका यादव आफ्नो कार्यकालमा विवादीत प्रदेश प्रमुख बनिरहे ।
यादवलाई लुम्बिनी प्रदेश विपक्षी गठबन्धनले अल्पमतका मुख्यमन्त्रीलाई नियुक्ति दिएको आरोप लगाएको छ । यादवले विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव सहित संसद बोलाउन समाबेदन गर्दा नबोलाएको, किर्ते हस्ताक्षरको भरमा मुख्यमन्त्री नियुक्त गरेको, विपक्षी बिरुद्ध बल प्रयोग गरेर मुख्यमन्त्री कार्यालय मै पुगेर सपथ खुवाएको जस्ता आरोप विपक्षी गठबन्धनले लगाउदै आएका छन् ।
प्रदेश सभामा स्पष्ट अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियक्त गरेको आरोप खेपेका यादवलाई मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखको कार्यालय पुगेर विदाई गरेका छन् ।
मंगलबार मात्र मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति बिद्यादेबी भण्डारीले यादवलाई पदमुक्त गरेकी थिईन् । मन्त्रिपरिषदको सिफारिसमा लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ ।
काँग्रेस नेतृत्वका सरकारले ७ माघ २०७४ मा प्रथम प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नियुक्त गरे पनि ओली नेतृत्वको सरकारले झालाई हटाएर यादवलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।








