बुटवल,१२ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले प्रदेश सभाबाट छिट्टै बिश्वासकाे मत लिने तयारी गरेका छन् ।
प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्री पाेखरेलले प्रदेश सभाबाट छिट्टै विश्वासको मत लिने तयारीमा रहेको बताएका हुन् ।
आज बसेकाे मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरु सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासाकाे जवाफ दिँदै प्रवक्ता चौधरीले विपक्षी गठबन्धनबाट पटकपटक सरकारकाे बैधानिकतामाथि प्रश्न उठाएकाेले मुख्यमन्त्री शंकर पोखरेलले छिट्टै विश्वासको मत लिने तयारी गरेको बताए ।
मुख्यमन्त्रीमा नियुक्त हुँदा एमालेको एकल मतका आधारमा नियुक्त भएका मुख्यमन्त्री पोखरेलले सरकारलाई थप बलियो बनाउने भन्दै अर्को दललाई पनि सरकारमा सहभागी बनाएपछि उनिमाथि विश्वासको मत लिन दवाव परेको हो ।
एमालेको एकल बहुमत देखाउन मुख्यमन्त्री पाेखरेलले प्रस्तुत गरेको दाबी पत्रमा किर्ते हस्ताक्षर गरिएको विपक्षी गठबन्धनको आरोप छ । मुख्यमन्त्री पाेखरेलले प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरेको अघिल्लो दिन २ जना एमालेका प्रदेश सभा सदस्यले राजीनामा दिएको र उप चुनावमा नेकपा बाट बिजयी भएकी एकजना प्रदेश सभा सदस्यले माओवादी केन्द्र रोजेका कारण पोखरेलको दाबी झठो भएको विपक्षीको दाबी छ ।
अल्पमतमा परे एक मिनट पनि सरकारमा नबस्ने घाेषणा गरेका
मुख्यमन्त्री पोखरेलले विपक्षीले पटकपटक बैधानिकताको प्रश्न उठाए पनि विश्वासको मत नलिई सरकारमा बसेका छन् ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका प्रवक्ता चौधरीले जनता समाजवादी पार्टीको विवादमा आयोगले उपेन्द्र यादव समूहलाई आधिकारिकता दिएपनि त्यसले लुम्बिनी प्रदेश सरकारलाई तत्काल केही फरक नपार्ने दाबी गरे ।
संघीयतामा प्रदेशले संघकै संरचना मान्नु पर्ने आवश्यक नरहेको बताउँदै चाैधरीले प्रदेशले फरक संरचना पनि बनाउन सक्ने धारणा राखे ।
जसपा केन्द्रीय संरचनामा भएको फेरवदल वा प्रदेश प्रमुख फेरबदलले लुम्बिनी प्रदेश सरकारलाई खासै असर नगर्ने उनको भनाइ छ ।
वैशाख १९ मा सरकार गठनका बेला लुम्बिनी प्रदेशसभामा रहेका ८१ प्रदेश सभा सदस्यमध्ये एमालेका मात्र ४१ जना देखाएर संविधानको धारा १६८ को उपधारा १ अनुसार
पाेखरेल मुख्यमन्त्रीमा नियुक्त भए पनि त्यस अघि नै दुईजना एमाले प्रदेश सभा सदस्यले राजीनामा दिएका थिए भने १ जनाले माओवादी केन्द्र रोजेका कारण पोखरेलको सपथ अवैध भएको विपक्षी गठवन्धनकाे दाबी छ ।
सरकार गठनपछि अहिले एमालेका ३८ र जसपाका ३ गरी ४१ सदस्यको समर्थनमा सरकार टिकेको छ । विपक्षी गठबन्धनमा पनि सभामुख बाहेक ४१ प्रदेश सभा सदस्य छन् ।
जसपाका एक प्रदेश सभा सदस्य आइतबारदेखि सम्पर्क बिहिन रहेको अवस्थामा प्रदेश सरकारले विश्वासको मत लिने तयारी गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
यसैबीच आज बसेकाे प्रदेश मन्त्रीपरिषद बैठकले बाल विवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति स्वीकृत गरेकोे प्रवक्ता चाैधरीले जानकारी दिए ।








