-योगराज आशिष दाहाल

समयको सुइमा पिल्सिएका मान्छेहरू

धन र पैसाको लालचमा

जनावरको नकाब भिरेर

चेतना उडाएर

चेतना सल्काएर

देशको कल्कलाँउदो

काँचो इतिहासलाई बन्दुक बनाइरहेछन्।

स-साना बालबच्चाहरू

जो आफैं, आफ्नाबाट अनाथ भएका छन्

त्यतिखेर

आफ्नै असल व्यवहार

साटिएको चेतना हुने छैन तिनीहरूलाई।

लेखहरू नबुझिने गरी

जब हल्लाहरूले तानिन्छ

तब शिक्षित हुनेछ

मनाङ र मुस्ताङ।

नयाँ सहरका बस्तीमुनिबाट

खिइएको आफ्नै

टाउको र हात उठाँउदै चिहानबाट

मसानघाट तोड्दै फोड्दै ब्युँझनेछन्

एक हुल सहिदहरू

देशको स्वभिमान खोज्दै।

भोकमरीले निल्नै लागेका मान्छेहरू

बेलुका निभ्नै लागेको चुल्होबाट

खाँली भाँडाकुँडा ठट्टाउँदै खोज्नेछन्

देशको स्वभिमान

सूर्य-चन्द्र अङ्कित झण्डामा

खुकुरीको धार टल्काउँदै फर्किनेछन्

विदेशिएका युवाहरू

मुटुको पीडा आँखामा आँशु बोकेर

एकाबिहानै रोगी बुढाबुढीहरू लठ्ठी टेक्दै

छिर्नेछन् राजधानीतिर

अनि लम्पसार पर्नेछन् सडकमा

चिल्ला कारमा हिँडिरहेका छन्

देश बेचेर खानेहरू

आज मान्छेहरू

आफ्नै पैताला शिरमा उनेर खोजिरहेछन्

आफ्नै स्वतन्त्रता

जो आफ्नै देशमा पराई भएका छन्

माथि हिमालको शेर्पा दाइलाई

डर लाग्न थालेको छ यतिबेला

तराई झर्न

तल तराईका सत्यनारायण दाइलाई

आफ्नै लाग्न छाडेको छ

त्यो माथिको पहाड

बेरोजगारीले थ्याच्च थिचेकाहरू

डाका भएका छन् यतिबेला

जो देशको स्वाभिमान बिर्सिएर

हत्यारा भएका छन् यतिबेला

सहरमा लाइन गएको बेला

बलात्कृत हुने गरेकी छे नारी

कुनै दिन

आफ्नो अर्धनग्न शरीर लिएर

एकहुल महिलाहरू निस्कनेछन्

आफ्नो गुमाएको अस्मिता खोज्दै

अनि

निस्कनेछन् अर्काथरी रेस्टुरेन्ट र होटलहरूबाट

बाध्यात्मक यौनको जिन्दगीबाट

मुक्त हुनको निमित्त

त्यतिखेर खोज्नेछन्

इतिहास बिर्सेकाहरूले

देशको स्वाभिमान

भ्रष्ट र दोषी स्यालहरूको

नक्कली गर्जाइलाई

जिउँदै चिहानमा गाड्न

भुत्तिएको खुकुरीलाई उध्याउँदै

आउने छ्न् बलभद्र,

देशको स्वाभिमान खोज्दै

भ्रष्टाचारको अन्त्य भो भनेर

देशमा समता छाओस् भनेर

कृष्णले अन्तिम शंखघोष गर्नेछन्

शुभबिहानीसँगै

श्रीअन्तु डाँडाबाट

सकारात्मक सन्देश आउने छ

बेहाल देखिने छन्

रात छिप्पिएपछि

भट्टीहरूमा

जनताका पसिना उडाउनेहरू

टेबुलमुनिबाट देश लुछ्नेहरू

त्यतिबेला यी खोक्रो भाषण

समृद्धिको सपना बोकेर

राष्ट्रको स्वाभिमान र

खुकुरी बोकेर

भ्रष्टाचारविरोधी उद्घोष गर्दै

आउनेछन् बलभद्र!

ए देशको छाती प्वाल पारेर

छातीमा तक्मा भिर्नेहरू हो सावधान

ए देशको चिरहरण गरेर

आलिसान महलमा चिर निदाउनेहरू हो सावधान!

जब देशले माग्नेछ यतिञ्जेल छाती चुसाएको मूल्य

जब देशले माग्नेछ यतिञ्जेल आफ्नो छातीमा दिएको आश्रयको मूल्य

के तिमी दिनेछौ

देशको कालो मुहार पार्ने सपनाको पाण्डुलिपि?

या दिनेछौ बयान

मैले यसरी पारे भर्भराउदो देशलाई अस्थिरपञ्जर मात्र?

साहित्यपाटीबाट