बुटवल,१ जेठ ।
बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको सरसफाई कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सरसफाई कार्याक्रमलाई प्राथिमकितामा राखेको बुटवल उपमहानगरले हरेक महिनाको १ र १५ गते बजारको मुख्य राजमार्ग र मुख्य मुख्य चाेक सरसफाई गर्ने गरेको छ ।

बुटवल उपमहानगरले सरसफाई अभियान अन्तरगत आज जेठ १ गते शुक्रबार रुपन्देहीकै सबै भन्दा पुरानो र ठूलो हाटबजार क्षेत्रको सरसफाई गरेको हो ।

बुटवलका जनप्रतिनिधि, कर्मचारी, स्थानीय टोलविकास संस्था, कान्ति माध्यमिक विदालयका शिक्षक, कर्मचारी, विद्यार्थी, नेपाल प्रहरी, नेपाली सेना, व्यवसायी, सामाजिक अभियान्ता, पत्रकारहरुको सहभागितामा सरसफाई गरिएको थियो । नगर प्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रादेवी अर्यालको सहभागितामा हाटबजार सरसफाई गरिएकाे हो ।

बसपार्क, मुख्य सडक, बजारका विभिन्न ठाउंमा सरसफाई गर्दै आएको बुटवल उपमहानगरले स्थानीयलाई सरसफाईमा जुट्न आग्रह गर्दै आएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवललाई नमुना शहरको रुपमा विकास गर्नका लागि पहिलो सरसफाई चाहिने र सरसफाई मानव स्वास्थ्यसंग जोडिएकाले सरसफाई अभियानमा सबै नगरवासीको सहभागिता हुनुपर्ने बताए ।

प्रमख पाण्डेले बुटवलमा छाडा गाई, गोरुले समस्या निम्ताएको बताउंदै यही जेठ ३ गते वडा नम्बर ३ देखि वडा नम्बर ११ को विभिन्न ठाउंबाट बिहान गाइ,गोरु व्यवस्थापन गरिने र उक्त कार्यक्रममा सहभागी हुन नगरबासीलाई आग्रह गरेका छन् ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले सबैले सरसफाईप्रति ध्यान दिनुपर्ने बताउंदै सबै नगरवासीले सरसफाई आफैका लागि भएको बुझेर सरसफाई अभियानमा सरिक हुन आग्रह गरिन् ।