नवलपरासी,१ असोज ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ मा रहेको घाँगीभीरमा केही समयदेखि निरन्तर निस्किरहेको धूवाँ विषाक्त ‘कार्बन मोनोअक्साइड’ ग्यास रहेको पुष्टि भएको छ ।

नेपाल सरकारको खानी तथा भू–गर्भ विभागको विज्ञ टोलीले गरेको स्थलगत अध्ययन तथा प्रारम्भिक परीक्षणअनुसार चट्टानभित्र रहेको पाइराइट खनिज अक्सिजनसँग मिसिँदा उत्पन्न रासायनिक प्रतिक्रियाले यो घातक ग्यास निस्किएको हो ।

विज्ञहरूका अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाइअक्साइड ग्यास र उच्च तापक्रम पैदा हुन्छ जसले चट्टानमा रहेको कार्बनलाई बाल्न मद्दत गरिरहेको छ । यस ग्यासको असरले मानिस तथा पशुपक्षीमा टाउको दुख्ने, रिँगटा लाग्ने, श्वासप्रश्वासमा समस्या हुने र अचानक बेहोस भई ज्यानसमेत जानसक्ने भएकाले धूवाँ निस्किएको ठाउँ नजिक नजान र नसुँघ्न विज्ञहरूले कडा चेतावनी दिएका छन् ।

यसैगरी धूवाँ निस्किएको ठाउँमुनिको खोल्सीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकाले त्यो पानी पिउन वा प्रयोग गर्न नमिल्ने विज्ञहरूले बताएका छन् ।

स्थानीय प्रशासन तथा विज्ञहरूले रिल वा भिडियो बनाउने बहानामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।