बुटवल,२९ असार । लुम्बिनी प्रदेश सभामा विपक्षी गठबन्धन दलहरूले प्रदेश सरकारकाे बैधानिकतामाथि प्रश्न उठाउदै राजिनामा दिएर मार्ग प्रसस्त गर्न मुख्यमन्त्री शंकर पाेखरललाई सुझाव दिएका छन् ।

प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथिकाे छलफलमा सहभागी हुदै विपक्षी गठवन्धन दलका प्रदेश सभा सदस्यहरूले अल्पमतकाे सरकारले ल्याएको वजेट पनि अवैधानिक भएको भन्दै वजेटमाथिकाे छलफलकाे आैचित्यमाथि समेत प्रश्न उठाए ।
काेभिड-१९ बिरूद्वकाे खाेपका लागि नछुट्याइएकाे,वजेटमा स्वास्थ्यलाई तेस्रो प्राथमिकतामा राखिएको,प्रदेश सभा सदस्य हरूलाई वाइपास गरेर नेकपा एमालेका गाउँ र जिल्ला कमिटीबाट सिफारिस गरिएका योजनाहरू समेटेर वजेट ल्याइएको भन्दै उनिहरूले यो वजेट पारित गराउन सरकारलाई सहयोग गर्न नसकिने धारणा राखे ।
वजेटमाथिकाे छलफलमा सहभागी हुदै नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरू सुरेन्द्र बहादुर हमाल,अष्टभुजा पाठक,शंकर गिरी,निर्मला क्षेत्रीले प्रदेश सरकार स्पष्ट अल्पमतमा हुँदा समेत मुख्यमन्त्री शंकर पाेखरेलले राजिनामा नदिई जबर्जस्ती सरकारमा बसिरहेकोमा आपत्ति जनाए ।
लाेकतन्त्रमा अल्पमतले बहुमतमाथी शासन गर्ने प्रचलन कहि कतै नभएको भन्दै उनिहरूले अल्पमतले बहुमतमाथि शासन गर्ने कुचेष्ठा त्यागेर राजिनामा दिई नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न मुख्यमन्त्री पाेखरेललाई सुझाव दिए ।
प्रदेश सभाको राेष्ट्रममै उभिएर मुख्यमन्त्री पाेखरेलले अल्पमतमा परे एक मिनेट पनि सत्तामा नवस्ने भनी दिएको अभिव्यक्ति स्मरण गराउदै उनिहरूले नैतिकता, सिद्धान्तनिष्ठ र स्व्च्छ छवि भएको नेताको रूपमा परिचय बनाएका मुख्यमन्त्री पाेखरेल अनैतिक रूपमा सत्तामा बसेर आफ्नो छवि धमिल्याएकाे आराेप लगाए ।
कांग्रेसका प्रदेश सभा सदस्य अष्टभुजा पाठक र निर्मला क्षेत्रीले त मुख्यमन्त्री पाेखरेल दाेस्राे पटककाे नियुक्तिनै अवैधानिक भएको आराेप लगाेउदै पाेखरेल नेतृत्वको सरकार अल्पमतमा परेको कुरा हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचन परिणाम र अहिले प्रदेश सभामा दलिय रूपमा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरूकाे अंकगणितले पुष्टि गरेको दाबी गरे ।
त्यस्तैगरि नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरू कृष्णध्वज खड्का,दिपेश थारू,दीपा बिक,जनता समाजवादी पार्टी संसदीय दलका नेता सहसराम यादव,पुरमती ढेगा र राष्ट्रिय जनमाेर्चाकी प्रदेश सभा सदस्य तारा जिसीले पनि प्रदेश सरकारले ल्याएको वजेट कुनै नीति ,सिद्धान्त र आधारमा भन्दा पनि एमाले कार्यकर्ताकाे सिफारिसकाे आधारमा ल्याइएको बताउदै वजेट समानुपातिक समावेशी सिद्धान्त विपरीत, असन्तुलित,विभेदकारी र पक्षपाती भएको आराेप लगाए ।
प्रदेश सभामा बजेटमाथिको छलफल चलिरहदा मुख्यमन्त्री पाेखरेल प्रदेश सभामा अनुपस्थित भएर संघीय सरकार टिकाउन काठमाडौंमा केन्द्रित भएकोप्रति असन्तुष्टि जनाउँदै उनिहरूले स्पष्ट अल्पमतमा रहेका मुख्यमन्त्री पाेखरेलले राजिनामा दिएर मार्ग प्रसस्त गर्न माग गरे ।

सत्तापक्षका प्रदेश सभा सदस्यहरू विष्णु पन्थी,आरति पाैडेल,नारायण प्रसाद आचार्य,कुल प्रसाद पाेखरेल,रामजी घिमिरे,कृष्ण प्रसाद न्याैपाने,देवी विकले भने वजेट सन्तुलित ,विकास र समृद्धिलाई लक्षित गरेर आएको बतउदै वजेटकाे सफल कार्यान्वयन भए समृद्ध प्रदेश खुसी जनताको नारा साकार पार्न सार्थक हुने दाबी गरे ।

वैठकमा सत्ता पक्षका प्रदेश सभा सदस्यहरूले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतकाे फैसला प्रति असन्तुष्टि जनाएका थिए भने विपक्षी दलका प्रदेश सभा सदस्यहरूले भने फैसलाकाे स्वागत गर्दै फैसलाले संविधान,विधि,पद्धति र संघीय लाेकतान्त्रिक मुल्य मान्यतामाथि सरकारले गरेका प्रहारलाई राेकेकाे बताएका थिए ।
सत्ता पक्षका प्रदेश सभा सदस्य कुलप्रसाद पाेखरेलले फैसला शक्ति पृथकिकरण र प्रस्तावनाकाे संसदीय प्रणालीको प्रतिकुल भयो भन्ने प्रश्न सँगसँगै जन्मिएको भन्दै यद्यपि फैसलाकाे कार्यान्वयन भने निर्विवाद रहेको बताए ।
सत्ता पक्षकै अर्का प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले भने अदालतले संविधान मिचेर फैसला गरेको दाबी गरे ।
प्रदेश सभामा वजेटमाथिकाे छलफल आज सकिएकाे छ । अब बिहीबार वस्ने प्रदेश सभाको वैठकमा वजेटमाथि प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको मन्त्रीहरुले जवाफ दिने र सोही दिन बजेट निर्णयार्थ पेश हुने सभामुख पुर्णबहादुर घर्तीले प्रदेश सभालाई जानकारी गराए ।