Screenshot

काठमाडौँ,१२ असाेज ।
असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो, डुबान, हावाहुरी तथा चट्याङबाट देशभर २७ जनाको मृत्यु भएको छ। विपद्मा परी सात जना घाइते र चार जना सम्पर्कविहीन रहेको सरकारले जनाएको छ ।

यस अवधिमा ५१३ वटा मनसुनजन्य घटना भएका छन् । ती घटनाबाट देशभर १ हजार ६५ परिवार प्रभावित भएका छन् । सरकारका अनुसार बाढीपहिरोबाट देशभरका विभिन्न राजमार्ग तथा सडकखण्डका १४७ स्थानमा क्षति पुगेको थियो। तीमध्ये १२५ स्थानमा मर्मत गरी सडक सञ्चालनमा ल्याइएको छ। बाँकी स्थानमा पनि मर्मतको काम भइरहेको सरकारले जनाएको छ।

बाढीका कारण कालीगण्डकी,मर्स्याङ्दी तथा सेती–मादी कोरिडोरलगायत राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएको थियो ।

त्यसमध्ये सेती–मादी कोरिडोरका २६२ मेगावाट र मर्स्याङ्दी कोरिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र सञ्चालनमा आएका छन् । बाँकी विद्युत् संरचनाको मर्मतसमेत भइरहेको सरकारले जनाएको छ ।

बाढीपहिरोबाट प्रभावित दूरसञ्चार सेवा पनि क्रमशः सञ्चालनमा ल्याउने काम भइरहेको छ । नेपाल टेलिकमका १ हजार १३२ वटा टावरको नेटवर्क विच्छेद भएकामा ७८२ वटा सञ्चालनमा आएका छन् । त्यस्तै, एनसेलका १६२ वटा नेटवर्क विच्छेद भएकामा १०५ वटा मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।

सरकारले बाढीपहिरो प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सम्बन्धित स्थानीय तहसँगको समन्वयमा राहत तथा अस्थायी बसोबासको व्यवस्था मिलाइरहेको जनाएको छ ।

सरकारले क्षति पुगेका पूर्वाधारको मर्मत तथा पुनःस्थापनासँगै प्रभावित नागरिकको सुरक्षित व्यवस्थापन गरी जनजीवनलाई सामान्य बनाउन प्राथमिकताका साथ काम भइरहेको जनाएको छ ।