बुटवल, २७ असार ।
आइतबार बिहानदेखि परेको वर्षाका कारण भैरहवाको अधिकांश क्षेत्र डुबानमा परेको छ ।
भैरहवाको बैकरोड, गल्लामण्डी, जनकपथ, गार्गी पथ, बैककलोनी, अन्नपूर्ण टोल लगायतका क्षेत्र डुबानमा परेको हो । सडकमा भरिएको पानीका कारण बैक रोडमा पार्किङ गरी राखिएका सवारीसाधन सडकमै डुबेका छन् । रुपन्देहीका अधिकाशं सरकारी कार्यालय समेत डुबानमा परेका छन् ।
बिहान करिब अढाई घण्टा परेको मुसलधारे पानीले भैरहवा डुबानमा परेको हो ।
नगर क्षेत्रमा ढल व्यवस्थापन कमजोर हुनु तथा नाला भन्दा सडकको भाग होचो भएका कारण भैरहवा क्षेत्र डुवानमा परेको स्थानीयकाे आराेप छ । ढल व्यवस्थापन र सडक निर्माणमा नगरपालिकाले करोडौ रुपमा खर्चिए पनि प्रभावकारी काम हुन नसक्दा नगरपालिका वर्षेनी डुबानमा पर्ने गरेकाे उनिहरूकाे भनाइ छ ।
सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ इञ्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठले भने सामान्यतया १२५ मिलिलिटर भन्दा बढी पानी परेपछि सडक जलमग्न भएको बताए । वर्षा रोकिएको एक घण्टापछि सडकमा पानी नदेखिने उनलेे दाबी गरे । नालामा फोहोर फाल्दा नाला पुरिएकोले पानीको निकास नहुने भएका कारण सडकमा पानी जमेको उनको भनाइ छ ।








