बुटवल,२७ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ नारायणपथस्थित सुन्दर ग्लास हाउसमा आगलागी हुँदा कराेडाैकाे क्षति भएको छ ।
शनिबार राती करिब ९ बजेदेखि आगो लागेको आगो आइतबार बिहान साढे ३ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहका दमकल, नवलपरासीको बर्दघाट नगरपालिका, नेपाल आयल निगम, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दमकल सहित ८ वटा दमकर तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा आएको हो ।

प्लाइबोर्डको गोदाम समेत रहेको ग्लास हाउसमा विद्युत सर्किट सर्ट भएर आगलागी भएको प्रहरीकाे प्रारम्भिक अनुमान छ । आगलागीबाट गोदाममा रहेको प्लाइबोर्ड सहित पसलका सबै सामान नष्ट भएको छ । २ तल्ले घरको माथिल्लो तल्लामा पसलधनीको परिवार बस्दै आएकोमा आगलागि भएको केहीबेरमै उनीहरुको सकुशल उद्दार गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । घरमा रहेको नगद गरगहना सहित कुनै पनि समान बचाउन नसकिएको पसलका संचालक सुन्दर अग्रहरीले बताए ।

जलेका सामान पन्छाउने काम जारी रहेकाले आगलागिबाट भएको क्षेतिको विवरण तयार नभएको प्रहरी नायव उपरीक्षक थापाले बताए । आगलागीबाट कराेड बढीकाे क्षति भएकाे हुन सक्ने प्रहरीकाे प्रारम्भिक अनुमान छ ।