बुटवल,७ असार । रुपन्देहीमा जारी निषेधाज्ञा मंगलबारदेखि थप खुकुलो हुने भएको छ ।
जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले नीजि सवारी साधन चल्न पाउने गरि निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको हो ।

साेमबार बसेकाे जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले नीजि सवारी साधन चल्न पाउने गरि निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको थियो ।
यद्यपि निजी सवारी साधनमा जोर-विजोर प्रणाली लागु गरिएको जिल्ला प्रसासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए । जोर गते जोर नम्बरका सवारी साधन र विजोर गते विजोर नम्बरका सवारी साधन चलाउन पाइने उनले बताए ।

यस्तै डीसीसीएमसीको बैठकले भोलीबाट सबै सरकारी कार्यालय खोल्ने निर्णय समेत गरेको छ । यस अघि अत्यावश्यक कार्यालयहरु मात्र खुलेका थिए ।

कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि रुपन्देहीमा बैशाख १६ गतेबाट निषेधाज्ञा जारि गरिएको थियो । असार १ गतेबाट भने निश्चित समय पसल र व्यवसाय सञ्चालन गर्न पाउने गरि निषेधाज्ञा खुकुलो गरिएको थियो । भोलीबाट निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय भएकाे हाे ।