प्रकाश खनाल
बुटवल,६ असार ।
लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनका सबै प्रदेश सभा सदस्यहरुले प्रदेश सभाको बैठक बहिस्कार गरेपछि प्रदेशसभा बैठक स्थपित भएको छ ।

बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोलेका नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र प्रसाद कानाेडियाले अल्पमतको सरकारले ल्याएको बजेटका बिषयमा छलपलमा भाग नलिने भन्दै बैठक बहिस्कारको घोषणा गरेपछि ३ः१५ बजे सम्मका लागि बैठक स्थगित भएको थियो ।
सभामुख पूर्ण बहादुर घर्तीले स्थगित प्रदेश सभा बैठक सूचारू गर्ने प्रयास गरे पनि बिपक्षी गठबन्धनले अल्पमतकाे सरकारले ल्याएको बजेटमाथीकाे छलफलमा सहभागी नहुने अडान नछाडेपछि सूचना टाँस गरी असार ९ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले सूचना टाँस गरी बैठक सारिएको जानकारी दिए ।
प्रदेश सभा बैठककाे सुरुमै विशेष समय लिएर बाेल्दै नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र प्रसाद कानाेडियाले अल्ममतको सरकारले ल्याएको बजेटको स्वामित्व प्रदेश सभाले लिने कि नलिने भन्ने प्रश्न उठेको बताए । उनले पहिले सरकारले आफ्नो बैधानिकता पुष्टि गर्नुपर्ने माग गर्दै बैठक बहिस्कारको घोषणा गरेपछि बिपक्षी गठबन्धनका सबै प्रदेशसभा बैठक कक्षबाट बाहिरिएका थिए ।
लुम्बिनी प्रदेशका विपक्षी गठकन्धनले अध्यादेशबाट बजेट आउन सक्ने सम्भावनालाई टार्न प्रदेशसभामा प्रदेश सरकारकाे नीति तथा कार्यक्रम र बजेट पेस गर्न दिएर बजेट माथिको छलफल भने बहिष्कार गरेका हुन् ।
बिपक्षी गठबन्धनले प्रदेश सभामा आफुहरूकाे बहुमत रहेको र दाेस्राे पटक मुख्यमन्त्रीमा नियुक्त भएका शंकर पाेखरेल नेतृत्वको सरकारकाे बैधानिकतामाथीनै प्रश्न उठाउदै आएका छन् ।








