काठमाण्डाै,६ असार । पहाडी क्षेत्रकाे तुलनामा आज तराई क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश-१, दुई र सुदूरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक/दुई ठाउँमा पानी परिरहेको महाशाखाका मौसमविद् मञ्जु वासीले जानकारी दिइन् ।

दिउँसो पनि मौसम बद्ली हुने र धेरै ठाउँमा पानी पर्ने उनले बताइन् । आज दिउँसो प्रदेश-१, प्रदेश-२ तथा वाग्मतीका थोरै ठाउँमा र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै पानी पर्ने र काठमाण्डौ उपत्यकामा पनि दिउँसोपख पानी पर्ने सम्भावना रहेको मौसमविद् वासीकाे भनाइ छ । त्यस्तै आज राती प्रदेश-१, प्रदेश-२ तथा वाग्मती प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

ठूलो पानी पर्ने क्षेत्रमा बाढी पहिरोको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अझै केही दिन निरन्तर पानी पर्ने देखिएको पनि महाशाखाले जनाएको छ ।