पाल्पा,३० जेठ ।
पाल्पामा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको बा४ख ७३२० टिपरले सोही दिशातर्फ गुडिरहेको प्रदेश ३–००१ क ०२५० नम्बरको टिपरलाई पाल्पाको लघुवामा ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका हुन् ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा भएको दुर्घटनामा परी मृत्यु हुनेमा गुल्मीको रुरु गाउँपालिका–२ का ४५ वर्षीय टंकबहादुर कुँवर रहेका छन् ।
घाइते हुनेमा सोही गाउँपालिका–२ का ३८ वर्षीय अशोक कुँवर, सोही ठाउँका ४२ वर्षीया रमा कुँवर, ठेगाना नखुलेका ललितपुर घर भएका २६ वर्षीय राजेन्द्र बजगाई, नवलपरासीको सुनवल नगरपालिका–९ का २२ वर्षीय किसन कुँवर रहेको प्रहरीले जनाएको छ। घाइते चारै जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
घाइते सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाग्रष्त दुवै टिपर सडकदेखि करिब दुई सय मिटर तल खसेका छन् । त्यस्तै आजै सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ झुम्सामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का ३७ वर्षीय विष्णुहरी पाण्डे र गुल्मी रुरु गाउँपालिका–५ का ३६ वर्षीया सीता पाण्डे रहेका छन् । गम्भीर घाइते उनीहरूलाई उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगिएको प्रहरीले जनाएको छ।
बुटवलदेखि पाल्पामा आउँदै गरेको लु१क १३१५ नम्बरको मिनी ट्रकले बुटवलतर्फ जाँदै गरेको लु ३२ प ७११४ नम्बरको मोटरसाइकललाई दिउँसो ठक्कर दिएको थियो।








