बुटवल,३० जेठ ।
राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगर समितिले निषेधाज्ञाका कारण समस्यामा परेका बुटवलका ५० घर परिवारलाई राहात वितरण गरेको छ ।
आइतबार एक कार्यक्रमकाबीच प्रत्येक परिवारलाई १५ किलो चामल, पाँच किलो गहुँको पिठो, तेल, नुन, मस्यौरा लगायतका खाद्यान्न सामग्री वितरण गरेको पार्टीका बुटवल उपमहानगर अध्यक्ष थर्क बहादुर बारघरेले जानकारी दिए ।
सरकारद्वारा जारी निषेधाज्ञाका कारण जनजीवन कष्टकर बन्दै गइरहेको र विशेष गरि निम्न आए भएका र दैनिक श्रम गरेर गर्जो टार्ने वर्गका मानिसहरुमा यसले नराम्रोसंग प्रभाव परेको कुरालाई मध्यनजर गरेर पार्टीले तीन हप्तादेखि रुपन्देहीका विभिन्न ठाउँमा राहतको रुपमा दैनिक उपभोग्य वस्तु, खाद्यान्न तथा खाना वितरण गर्दै आइरहेको उनलेे बताए ।
सोअवसरमा बोल्दै पार्टीका केन्द्रिय सदस्य एवंं पूर्व सैनिक संगठनका केन्द्रिय अध्यक्ष भीम बहादुर रानाले महामारी नियन्त्रणमा सरकार चुकेको बताउँदै जनताप्रति सरकार उत्तरदायी बन्न नसकेको बताए । निषेधाज्ञाले आम नागरिकमा नैरास्यता र भोकमरी बढाएको उनको भनाई छ । जनताको जीवन रक्षा र एक गाँसको व्यवस्था समेत गरिदिन नसक्नेहरु सरकारमा बस्न नसुहाउने उनको धारणा थियो । दलहरु जनताको जीवन रक्षालाई बेवास्ता गर्दै सत्ता लिप्सामा मात्र केन्द्रित भइरहेको कुरालाई संकेत गर्दै उनले यसको हिसाब किताब जनताले गर्नु पर्ने समय आएको बताए ।
राहत वितरणमा पार्टीका नेताहरु धनी आले, बसन्ती साठिघरे, लुम बहादुर सारु, नन कुमार सारु, प्रेम थापा, खिमा थापा लगायत सहभागी रहेका थिए ।