चुरेबाट निस्कने निर्माण सामग्री कमसल भएको मुख्यमन्त्री पाेखरेलकाे प्रष्टिकरण प्रकाश खनाल
बुटवल,३० जेठ ।
लुम्बिनी प्रदेश सरकारले पेश गरेको नीति कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ । आज बसेकाे प्रदेश सभाको बैठकबाट बहुमतले नीति कार्यक्रम पारित भएको हो ।
नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएसँगै आइतबार प्रदेश सभाकाे बहुमतबाट नीति तथा कार्यक्रम पारित भएकाे हो ।
प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिदै मुख्यमन्त्री पाेखरेलले नेपालका प्राकृतिक स्रोत साधनको निकासी गर्ने संघीय सरकारकाे याेजनाकाे घुमाउरो पाराले समर्थन जनाए । उनलेे चुरे क्षेत्रबाट उत्पादन हुने निर्माण सामग्री कमसल रहेकोले त्यसको निकासी गरेर आम्दानी गर्नु ठिकै हुने आशय व्यक्त गरे ।
प्रदेश सरकारले कृषि क्षेत्रमा छुट्टाएकाे बजेट न्यून मात्रामा खर्च भएको भन्ने प्रदेश सभा सदस्यहरूकाे प्रश्नको जवाफ दिदै मुख्यमन्त्री पाेखरेलले प्राविधिक जनशक्तिको अभावका कारण कृषिमा छुट्टाइएकाे बजेट कम खर्च भएको स्विकार गर्दै प्रदेशका सबै पालिकाहरूमा कम्तीमा ३ जना प्राविधिक राख्ने योजना बनाएको जानकारी गराए ।
विपक्षी दलका प्रदेश सभा सदस्यहरूले भने प्रदेश सरकारकाे नीति तथा कार्यक्रम एनजीओमुखी,महत्वकांछी रहेको भन्दै आगामी बजेट काेराेनाबाट जनतालाई बचाउनेमा केन्द्रीत हुनुपर्नेमा जाेड दिएका थिए । उनिहरूले प्रदेश सरकार अल्पमतमा रहेको भन्दै सरकारकै बैधानिकतामाथी समेत प्रश्न उठाएका थिए ।
सभामुख पूर्ण बहादुर घर्तीले प्रदेश सभाको अर्को बैठक असार १ गते दिउँसो ३ बजे बस्नेगरी स्थगित गरेका छन् ।








