-शुभेच्छा नेपाल

(खुसीले उफ्रिँदै) हेर न बा! तिम्री छोरीले पनि एसइइ पास गरी,

अब म पनि सहराँ पढ्न जान्छु नि है?

अहँ, छोरी त्यो पर्दैन, त्यो सहर त हामी जस्ताको लागि बनेकै हैन।

जाउँ हिँड,घरनजिकै भर्ना गर्दिन्छु, घरकै आटो खाएर पढलिस्।

तर बा! कसरी पढुँ म यहाँ? मलाई त सेतो सुकिलो कोट लाउने डाक्टर बन्नू छ,

यसका लागि त सहराँ पढ्न जान्छु नि है?

अहँ ,छोरी त्यो पर्दैन, तँ सेतो हैन न्यायको प्रतिमूर्ति बन्न कालो कोटधारी बन्नुपर्छ।

सेतो रङदेखि घिन मान्ने,यो आरनको धुवाँमै तीन बिसे भाको बाको छाति गर्वले फुलाउँलिस्।

तर बा! पढ्ने थलो मात्र भएर नि त भएन, कसरी पाउँ ती चिल्ला र मोटा पुस्तक यहाँ?

पुस्तक किन्न त सहराँ जान्छु नि है?

अहँ, छोरी त्यो पर्दैन, जा गएर त्यो पुरानो बाकस खोली हेर,आज तैंले त्यो खोल्नैपर्छ।

सायद, यति भएसी तैंले हामी सबको सपनालाई वास्तविकता बनाउलिस्।

तर बा! यहाँ त केबल केही थान धुलोले भरिएका किताब मात्र पो छन्,

नयाँ पुस्तक लिन त सहराँ जान्छु नि है?

अहँ, छोरी त्यो पर्दैन, जा धूलो टकटकाएर तिनै पुस्तक पढ,

बीचमै किताबको झोला छोडेर,बन्दुक भिरेर जनयुद्वमा मारिएको तेरो विरे दाइको आत्मालाई न्याय दिलाउलिस्।

तर बा! दाम बिना म कसरी पढ्नू ,कसरी लाउँ यो चार ठाउँमा टालेको कुर्ता अब?

शाहुसँग ऋण मागी ,इज्जत छोप्ने टालो किन्न म सहराँ जान्छु नि है।

अहँ, छोरी त्यो पर्दैन, जा तेरी आमाको तिलहरी बचाएर राखेको छु,आज त्यो बेचिदे ,

कोरोना कि प्यारी भई, हाम्ले छुन समेत नपाई ,सेतो प्लास्टिकले बेरेर पोलिएकी उसलाई,कालो कोट लाएर सन्तोष देलिस्।

साहित्यपाटीबाट