काठमाडौँ,३१ वैशाख ।
प्रधानमन्त्री बालेन्द्र साहले दुई तिहाइ संख्याको आडमा संसदलाई कमजोर बनाउन खोजेको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री स्वयंले संसदलाई बेवास्ता गरेर लोकतान्त्रिक मूल्य र संसदीय अभ्यासलाई कमजोर बनाइरहेको बताए।
उनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी र जिम्मेवार नभएको भन्दै आपत्ति प्रकट गरे । सचेतक राईले सत्तापक्षका सांसद मनिष झाको अभिव्यक्तिलाई उद्धृत गर्दै संसदलाई गुरुकुल र विश्वविद्यालयको संज्ञा दिएका छन् ।
तर, अहिले प्रधानमन्त्रीले नै त्यस्तो विश्वविद्यालय समान सदनलाई ‘बंक’ गर्न थालेको उनको तर्क छ । प्रधानमन्त्री संसद भवनबाट केही सय मिटरको दूरीमा रहेको कार्यालयमा उपस्थित हुँदाहुँदै पनि नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण विषयको छलफलमा अनुपस्थित हुनु दुःखद् भएको उनले बताए । नीति तथा कार्यक्रम देशको आगामी वर्षको प्राथमिकता र कार्ययोजना भएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीकै कारण यसमाथि पर्याप्त छलफल हुन नसकेको दाबी गरे ।
राईले प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि राम्रो नभएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउनु पर्नेमा जोड दिए। उनले भने, ‘सदन एउटा चिया चौतारी होइन, यहाँ मन लागे आउने र मन लागे जाने गर्नुहुन्न । सदन त गुरुकुल र विश्वविद्यालय हुनुपर्छ। तर आज परिस्थिति यस्तो बनेको छ कि स्वयं प्रधानमन्त्रीज्यूले नै यो गुरुकुल र विश्वविद्यालयलाई बङ्क गर्न थाल्नुभएको छ ।’
राईले देशको कार्यकारी प्रमुखले सदन जस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु संसदीय अभ्यासप्रतिको उदासीनता भएको बताए । कांग्रेसले प्रधानमन्त्री स्वयं उपस्थित भएर सांसदहरूका गम्भीर प्रश्नको जवाफ दिनुपर्ने माग गरेको छ ।
सचेतक राईले संविधानको धारा ७६ (१०) अनुसार प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउन खोजिएको तर सरकारले दुई तिहाइको दम्भ देखाएको बताए । उनले सभामुखसँग प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन रुलिङ गर्न पुनः ध्यानाकर्षण समेत गराएका छन् । राईले थप भने, ‘हामीसँग गम्भीर प्रश्नहरू छन् र ती प्रश्न प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छौँ । तर आज दुई तिहाइ नजिकको संख्याको आडमा संसदलाई नै कमजोर बनाउने प्रयास भइरहेको छ, जुन लोकतन्त्रका लागि शुभ संकेत होइन ।’






