काठमाडौं,३१ वैशाख ।
प्रतिनिधिसभाको बैठक विपक्षी दलले अवरोध गरेका छन् । संसदमा प्रधानमन्त्रीको उपस्थिति माग राखेर सदन अवरोध गरेका हुन् ।

नेपाली कांग्रेसकी सचेतक वासना थापाले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थिति भाग गरेकी छन् ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरेसँगै विपक्षीले विरोध जनाएका हुन् ।

‘हामी दिनभर चुपचाप सुनिबस्यौँ । जिम्मेवारीपूर्वक प्रतिपक्षको भूमिका निभाइरह्यौँ । नीति तथा कार्यक्रममाथिको छलफलको जवाफ दिने बेलामा खै प्रधानमन्त्री ?,’ उनले भनिन्, ‘स्वयम प्रधानमन्त्रीकै अपमान हैन र हामी रुलिङ चाहन्छौं । नो इफ नो बट प्रधानमन्त्रीले जवाफ दिनुनै पर्छ । प्रधानमन्त्री उपस्थित नभएसम्म हाम्रो अवरोध यसरी नै रहिरहनेछ ।’

त्यस्तै नेकपा एमालेका ऐन महरले प्रधानमन्त्री जवाफ दिनमात्रै भए पनि उपस्थित हुनुपर्ने बताए ।

त्यस्तै नेकपाका युवराज दुलालले विपक्षीले दिनभर धैर्य गरेर सदन सञ्चालनको वातावरण बनाए पनि सत्तापक्षले त्यसलाई बेवास्ता गरेको बताए । त्यस्तै श्रम संस्कृति पार्टीका आरेन राईले सत्तापक्षकै सांसदको पनि गुनासो सम्बोधन गर्न प्रधानमन्त्री जवाफ दिन उपस्थित हुनुपर्ने बताए ।

त्यस्तै राप्रपाका ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीले सदनमा आएर भाषण गर्न नभनेको र नीति तथा कार्यक्रममाथिको जवाफ दिनका लागि खोज भएको बताए ।

विपक्षीले अवरोध जारी राखेपछि सभामुख डीपी अर्यालले छलफल सकिसकेको र जवाफ मन्त्रीबाट लिन दिने वातावरण बनाउन आग्रह गरे ।