बुटवल,२६ जेठ ।
हेफर इन्टरनेश्नल,नेपालको सहयोगमा लहर सामाजिक महिला उध्धमी सहकारी संस्था लिमिटेड,कञ्चन रूपन्देहीले कञ्चन गाउपालिकालाई कोभिड १९ रोकथाम तथा न्युनिकरणका लागि ६ लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराएको छ।
मंगलबार कञ्चनमा एक कार्यक्रमका बिच हेफर इन्टरनेश्नल,नेपालका कार्यक्रम संयोजक अनन्तराज सिलवाल र लहर सामाजिक महिला उध्मी सहकारी संस्थाका अध्यक्ष राधिका चौधरीले गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीलाई उक्त रूपयाकाे चेक हस्तान्तरण गरेका हुन् ।
आर्थिक सहयोग हस्तन्तरण गर्दै हेफर इन्टरनेश्नल,नेपालका कार्यक्रम संयोजक सिलवालले हेफरले स्थानीय साझेदार संस्थाहरुको सहकार्यमा पशु तथा कृषि बिकास कार्यक्रममा समुदायको शसक्तिकरण,कृषकहरुको उत्पादन तथा उत्पादकत्व बृद्धि बिकास र बजारिकरण क्षेत्रमा काम गर्दै आइरहेको जानकारी गराउदै हेफरले बिश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ बिरुद्धको अभियानमा स्थानीय सरकारसंग एक्यबद्धताका लागि स्थानीय साझेदार संस्थाहरु मार्फत स्थानिय तहरुलाई आर्थिक सहयोग उपलब्ध गराएको बताए ।

गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चन गाउपालिकामा १५ शैयाको अस्पताल निर्माणको क्रममा रहेता पनि तत्कालिन समयमा देखा परेको कोभिड १९ को संक्रमणलाई फैलिन नदिन रुद्रपुर स्वास्थ्यचौकीमा २० शैयाको कोभिड अस्पताल निर्माण गर्न लागेको जानकारी गराए ।

तेश्रो लहरको रुपमा बालबालिकामा समेत कोभिड १९ को संक्रमण देखा पर्ने र त्यसले झन जटिलता उत्पन्न गर्न सक्ने कुरालाई मध्यनजर गर्दै सो अस्पताल निर्माण गर्न लागेको बताउदै अध्यक्ष क्षेत्रीले बिभिन्न सहयोगी संस्था र चन्दादाताहरुबाट प्राप्त हुने सहयोगलाई कोभिड अस्पताल निर्माण गर्नमा खर्चिने बताए ।

देशभर ३३ जिल्लामा कार्यक्रम संचालन गर्दै आएको हेफर इन्टनेशनलले कोभिड १९ काे संक्रमण रोकथाम तथा न्युनिकरणमा सहयोग गर्न रुपन्देहीका ३ स्थानीय तहरुलाई स्थानीय साझेदार संस्थाहरु मार्फत ६६ लाख रुपैया सहयोग गरेको साे संस्थाले जनाएको छ ।

कोभिड १९ काे संक्रमण रोकथाम तथा न्युनिकरणका लागि साे संस्थाले लुम्बिनी प्रदेशमा ५ करोड ३ लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराएको जनाइएको छ।