बुटवल,२५ जेठ । लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७८/०७९ को बार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ ।
आज बसेकाे लुम्बिनी प्रदेशसभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले आर्थिक वर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

गत बैशाख १९ गते मुख्यमन्त्रीको पुनर्नियुक्ती र त्यसपछि जवरजस्ती सपथ खुवाएको भन्दै विपक्षी गठबन्धनका सांसदहरुको बैठक बहिस्कारका बीच प्रदेशप्रमुख यादवले नीति थगा कार्यक्रम सार्वजानिक गरेका थिए ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्षले नीति तथा कार्यक्रम बहिस्कार गरेका थिए । यी दलहरुले प्रमुख सचेतकहरुलाई मात्र प्रदेशसभामा पठाएर अन्य सांसदलाई बहिस्कार गर्न निर्देशन दिए अनुसार सांसदहरु प्रदेशसभामा अनुपस्थित भएका हुन् ।

प्रदेश सरकारले लुम्बिनी प्रदेशमा आगामी आर्थिक बर्षमा १०१ वटा सडक-पुल निर्माण गर्ने, प्रदेश यातायात गुरुयोजना सम्पन्न गर्ने, आमा बाबु नभएका तथा अति विपन्न बालबालिकालाई आवासीय शिक्षा, एक स्थानीय तह, एक खेलकुद संरचना, प्रदेशका बिभिन्न जिल्लाहरुलाई परम्परागत उत्पादनका आधारमा पकेट जोन बनाउने लगायतका कार्यक्रमहरु नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

सत्ता पक्ष नेकपा एमाले बाहेकका सबै बिपक्षी दलहरूले मुख्यमन्त्री शंकर पाेखरेल नेतृत्वको प्रदेश सरकारकाे बैधानिकतामाथिनै प्रश्न उठाउदै आएका छन् ।