बुटवल,२५ जेठ । लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ ।
दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारका प्रवक्ता एवं आार्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, कोरोना महामारीले थलिएको अर्थतन्त्रलाई उकास्ने, पुराना र अधुरा योजनाको निरन्तरतालाई प्राथमिकतामा राखिएको प्रवक्ता चौधरीले बताए । यसपटक खासै नयाँ कार्यक्रम नहुने र मूलरूपमा कोरोना नियन्त्रण, कोरोनाले अर्थमन्त्रमा पारेको असर न्यूनीकरण गर्ने गरी नीति तथा कार्यक्रम आउने–प्रवक्ता चौधरीकाे भनाइ छ ।
प्रदेश सरकारले यसअघिनै विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रदेश सभामा पेस गरिसकेको छ ।
नीति तथा कार्यक्रमबीना प्रदेश सरकारले नीति तथा कार्यक्रम नल्याई विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रदेश सभामा पेस गरेको भन्दै विपक्षी दलहरूले बिराेध जनाएका थिए । सरकार अल्पमतमा परेकाले संसद छलेर अध्यादेशबाट बजेट ल्याउने नियतले नीति तथा कार्यक्रम अगावै विनियोजन विधेयक ल्याइएको विपक्षी दलहरुको आरोप छ ।
राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभाका ८३ जना सांसदमध्ये सत्ता पक्षका उम्मेदवारले ४० मत मात्र पाएका थिए । सोही आधारमा विपक्षी दलहरुले दाेस्राे पटक मुख्यमन्त्रीमा नियुक्त भएका शंकर पाेखरेल नेतृत्वको प्रदेश सरकार अल्पतमा परेको दाबी गर्दै आएका छन् ।
संविधानकाे धारा १६८(१) अनुसार मुख्यमन्त्रीमा पुनः नियुक्त भएका भमुख्यमन्त्री पाेखरेल नेतृत्वको सरकारको स्वरूप संविधानकाे धारा १६८(२) अनुसारको भएको भन्दै विपक्षी दलहरूले मुख्यमन्त्री पाेखरेलले राजीनामा दिन या बहुमत सिद्ध गर्न विश्वासको मत लिन माग गर्दै आएका छन् ।
सरकारका प्रवक्ता चौधरीले भने सरकार बहुमतमै रहेकाले संसदबाटै बजेट ल्याउने दाबी गरेका छन् ।








