बुटवल,२३ जेठ ।
रुपन्देहीको कञ्चन गाउपालिकामा १०१ पोइन्ट रगत संकलन भएको छ ।
बिश्व वातावरण दिवसको अवसरमा कञ्चनमा क्रियाशिल बिभिन्न गैरसरकारी संस्थाहरुको आयोजना तथा सहजिकरणमा शनिबार भएको बृहत रक्तदान कार्यक्रममा १०१ पोइन्ट रगत संकलन भएको हो ।
बृहत रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले रगतको अभाव हुन नदिन भइरहेको रक्तदान कार्यक्रम मानव सेवाको उच्चत्तम कार्य भएको बताए । रक्तदान गर्ने हरेक ब्यक्तीले आफुलाई सेवाको उच्चत्तम कार्य तर्फ परिणत गर्न सफल भएको अध्यक्ष क्षेत्रीले उल्लेख गरे ।
सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन ४,रुपन्देहीको सहजिकरणमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी,कञ्चन उपशाखा,कञ्चन जेसिज,लायन्स क्लव अफ कञ्चन,लायन्स क्लव अफ कञ्चन लेडी,नेपाल स्काउट कञ्चन,कञ्चन महिला उधमी कृषि सहकारी संस्था,लाली गुरांस युवा क्लव,रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था,रिभरसाइड युवा क्लव लगायत सामाजिक संघसंस्थाहरुको आयोजना रहेको थियो भने रुद्रपुर युवा क्लव,कञ्चन ४ को व्यबस्थापन रहेको थियो ।
नेपाल नियमित रक्तदाता संघ,रुपन्देही तथा रक्त संचार केन्द्र,बुटवलको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रम रुद्रपुर माध्यमिक बिधालय,अंग्रेजी माध्यमको सभाहलमा संचालन भएको थियो ।
यसैबीच कञ्चनमा नियमित रक्तदाता संघको शाखा बिस्तार
भएको छ ।
बिगत १७ बर्ष देखि नियमित रुपमा रगत संकलन र रक्तदानको अभियानमा सकृय हुदै आएको नेपाल नियमित रक्तदाता संघले शनिबार कञ्चन गाउपालिकामा आफ्नो शाखा बिस्तार गरेको हो । बि.सं. २०६१ सालमा नियमित रक्तदाताको रुपमा परिचित स्वर्गिय सरोज सिलवाल बन्दीको अध्यक्षतामा स्थापना भएको संघले बिश्व वातारण दिवस सन्दर्भ पारेर कञ्चनमा शाखा बिस्तार गरेको हो ।
मानव सेवाको उच्चतम कार्य नै रक्तदान भन्ने मुख्य नारा सहित स्थापना भएको संघले पहिलो शाखाको रुपमा कञ्चनमा शाखा बिस्तार गरिएको संघका उपाध्यक्ष लोकनाथ भण्डारीले जानकारी दिए ।
लामो समय देखि नेपाल रेडक्रस सोसाइटीको माध्यमबाट रक्तदान अभियान संचालन गर्दै आएका नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका सचिव तुल बहादुर थापाको अध्यक्षतामा १३ सदस्यिय कञ्चन शाखा गठन भएको हो ।
संघको शाखा उपाध्यक्षमा राधिका चौधरी,सचिवमा उमा ढकाल,कोषाध्यक्षमा खेम बहादुर क्षेत्री र सह सचिवमा बाबुराम पौडेल रहेका छन । यस्तै सदस्यहरुमा शसिधर सापकोटा,प्रेम बहादुर राजकोटी,मिना पराजुली,राज कुमार थापा,गंगालाल पौडेल,मोहराज शर्मा,चित्र तुलाचन रहेका छन ।
बिस्तारित शाखाका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिदै कञ्चन गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले नियमित रक्तदाता संघ मार्फत कञ्चनमा हरेक तिन महिनामा रक्तदान कार्यक्रम अध्यावधि हुने विश्वास व्यक्त गरे । ।
नेपाल रेडक्रस सोसाइटी,लुम्बिनी प्रदेशका महामन्त्री कृष्ण प्रसाद पंगेनीले रुपन्देही जिल्लाको सन्दर्भमा रक्तदान अभियान मार्फत मानव सेवाको भावनालाई नेपाल नियमित रक्तदाता संघले उचाईमा पुराएको बताए । रगत अभाव भइरहेको समयमा रक्तदान गर्नु पर्छ भन्ने सोंचको बिकास नभइसकेको अवस्थामा नियमित रक्तदान गर्दै आएका स्वर्गिय सरोज सिलवाल बन्दीले रुपन्देही लगायत बाह्य जिल्लामा समेत रगतको अभाव हुन नदिन नियमित रक्तदान अभियान संचालन गरी मानव सेवाको भावनालाई अझ फराकिलो बनाएको महामन्त्ती पंगेनीले स्मरण गरे।
संघका अध्यक्ष दया सिलवालको अध्यक्षता,उपाध्यक्ष लोकनाथ भण्डारीको स्वागतमा सम्पन्न शाखा बिस्तार कार्यक्रमको संचालन संघका सचिव महेश खनालले गरेका थिए ।









