-पेशल आचार्य
‘कमरेड ! १० दिने काजसहित पर्यटन विदा
शिक्षकहरूलाई पनि राखूँ ?’
त्यो पर्दैन !
हाकिम साब !
‘फ्रन्ट लाइनमै काम गर्छन् मास्टरहरू दिनरात
१० लाख स्वास्थ्य बीमा यसपटक दिनै पर्ला’
त्यो पर्दैन !
‘अनि शिक्षक अस्पताल’
‘सामूहिक पदोन्नतिका कुरा’
‘संघीय शिक्षा ऐन जारी’
‘राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन प्रकाशन’
– ह्या ! के दिक्क लाइरा’को होला काम नपार ।
त्यो नि केही पर्दैन !
ती हनुमानहरू हुन्
ती अनुमानहरू हुन्
ती वन कुखुराजस्तै आफैँ चारो खोज्छन् र खान्छन्
आफैँ चरी बाघबाट बँच्छन्
चुनाव चुनावमा मात्र
सिद्धान्तको जीनकाँटी कसेर
तिनीहरूलाई घोडा बनाउनु पर्छ
र चाबुक हानेर आफूखुसी चढ्नु पर्छ !
अलिअलि गुलिया नारा
र चिप्ला आश्वासनका दानाहरू छर्नु पर्छ
बनाएर वीरबलको बोको
मास्टरलाई
मर्न पनि दिनु हुँदैन
मोटाउन पनि दिनु हुँदैन
अधमरो बँचाएर
तिनीहरूकै टाउकाको सिँढी बनाएर
राजनीति गर्नु पर्छ,
सुविधा
भत्ता
अवसर
र भनेजति कुरा दियो भने त
ती मात्तिन्छन्
भुइँमा न भाँडामा भई पात्तिन्छन् !
अनि हाम्रा झोला कसले बोक्ने ?
हामीलाई विजय बनाउन कसले पार्टीको मादल ठोक्ने ?
त्यसैले त्यो पर्दैन !
ओली बाले अस्ति नै भनेको बिर्सिस् मुन्द्रे !
‘अन्त कहीँ काम नपाएर —
र मर्न पनि नसकेर यी मानिस मास्टर हुन्छन् मास्टर !’
सर्वहाराहरूका समाजवाद उन्मुख प्रधानमन्त्रीको
यस्तो महान्वाणी तैँले कति चाँडो भुलिस् तिघ्रे !
जा ! चुनावको तयारी गर
अहिले धेरै दिएको छ सरकारले मास्टरहरूलाई
उहिले पञ्चायत कालमा
जाजरकोटतिर प्राथमिक स्कुलका शिक्षक मर्दा
जिल्लाका सिडिओ साहेबले भनेका थिए रे !
–‘थुक्क मान्छे म¥या भन्ने सुन्या त
जाबो मास्टर पो मरेछ !
त्यसैले त्यो पर्दैन
केही सुविधाहरू पनि थप्नु पर्दैन !
साहित्यपाटीबाट