Share this News on Social Networking Pages

बुटवल,१९ जेठ । रूपन्देहीको बुटवलमा निजी क्षेत्रबाट कोरोना विशेष अस्पताल सञ्चालन भएको छ ।

निजी क्षेत्रबाट सञ्चालित एडमन्ड सिटी अस्पतालले
बुटवल उपमहानगरपालिका वडा नं –१३, जितगढीमा मंगलबारदेखि कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको हो  ।
२०६७ सालमा सरकारबाट ५० शैय्याको अस्पतालको सम्बन्धन स्वीकृति प्राप्त गरेको अस्पताल पछिल्लो समय बन्द रहेको थियो ।

कोभिड महामारीलाई लक्षित गर्दै पुनः ५० बेडको अस्पताल सञ्चालन गरेको अस्पतालका अध्यक्ष प्रकाश रानाले बताए । करिब १ बिघा क्षेत्रफलमा फैलिएको अस्पतालमा भेन्टिलेटरसहित आठ शैय्याको आईसीयू, सात शशैय्याको एचडीयू र ३५ शैय्याको कोभिड आइसोलेसन रहेको छ । अस्पतालमा कन्सल्टेन्ट डाक्टर चार जना, मेडिकल अफिसर १०, नर्स ३८, प्यारामेडिक २२ र अन्य कर्मचारीसहित १ सय ४० जना कार्यरत रहेको अध्यक्ष रानाले जानकारी दिए ।

सरकारले तोकेको शुल्कअनुसार बिरामीको भर्नादेखि उपचार प्रक्रिया थालेको अध्यक्ष रानाले बताए । उनले भने, ‘सरकारले तोकेकै दरमा सरकारीमा भन्दा सहज र सुविधासम्पन्न उपचार दिने कोसिस गर्नेछौं ।’ अस्पतालमा उपकरण र स्वास्थ्य सामग्रीसहित ३ करोड रुपैयाँको लगानी रहेको जनाइएको छ ।