काठमाण्डाै,१५ जेठ । आज गणतन्त्र दिवस,देशभर विविध कार्यक्रम गरि मनाइदै छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको आज १३ वर्ष पूरा भएको छ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।
कोरोना संक्रमणकाे जोखिमका कारण दिवसका अवसरमा विशेष कार्यक्रम गरिएको छैन । लामो शाहवंशीय राजपरम्परा अन्त्य भएको घोषणा भएको यो दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइन्छ । गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको छ ।
२०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको हो । संघीय लाेकतान्त्रिक गणतन्त्र स्थापना पछिका १३ वर्ष सोचेजति र नागरिकले आशा गरेअनुसार उपलब्धि हासिल नभएको विश्लेषण हुँदै आएको छ । पछिल्ला वर्ष भ्रष्टाचार तथा दण्डहीनता बढ्दो छ । कोरोना महामारीको व्यवस्थापनमा हेलचेक्र्याइँले पनि राज्यप्रति नागरिकहरूको भरोसा कम हुँदै गएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको अवसरमा शुभकामना दिँदै समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय संकल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेकी छन् । उनलेे संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि दिवसले थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । गणतन्त्र दिवसकाे अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति सेर बहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले पनि शुभकामना सन्देश दिएका छन् ।