Share this News on Social Networking Pages

बुटवल,१३ जेठ । कोरोना भाइरसकाे संक्रमणका कारण बुटवलकाे एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा एक हप्ताको अवधिमा एकै परिवारका पाँच सदस्यमध्ये बाबु,आमा र छोराको मृत्यु भएको हो ।
वैैशाख अन्तिम साता उक्त परिवारका आमा र छोरामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमणपछि ३९ वर्षका छोराको अवस्था गम्भीर भएपछि युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको थियो । ५५ वर्षीया आमाको स्वास्थ्यमा भने खासै जटिल समस्या थिएन । त्यसैले उनी घरमै आइसोलेसनमा थिइन् । तर जेठ ५ गते उनको घरमै मृत्यु भयो ।

त्यसबीचमै ६९ वर्षीय बुबामा पनि कोरोना संक्रमण भयो र उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा भर्ना गरियो । उपचारकै क्रममा जेठ ७ गते छोराको र जेठ १२ गते बुबाका मृत्यु भयो ।

एक हप्तामा एकै परिवारका तीनजनाको मृत्यु भएक घटनाले स्तब्ध बनाएको बुटवल उपमहानगरपालिका-१० का वडाअध्यक्ष तथा मृतकका छिमेकी पदमबहादुर थापाले बताए ।

संक्रमित भएपछि समयमै अस्पताल पुर्‍याए पनि बचाउन नसकिएको उनले बताए ।

यस्तै उक्त परिवारका ५ सदस्यमध्ये ३९ वर्षकी बुहारी पनि संक्रमित भएर बुटवलको एक आइसोलेसन सेन्टरमा उपचाररत छिन् । उनका ६ वर्षीय छोरामा भने कोरोना संक्रमण देखिएको छैन । उनी आफन्तको घरमा छन् ।

कोरोना संक्रमणका कारण बुटवल उपमहानगरपालिकामा मात्रै १ सय ३० जना भन्दा बढीको मृत्यु भएको र १ हजार ८७ जना सक्रिय संक्रमित रहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।