Share this News on Social Networking Pages

बुटवल,१ बैशाख ।
प्यूठानको स्वर्गद्वारीनजिकै भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने,कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका ईश्वर भण्डारी र जीप चालक मुसीकोट ३ गुल्मीका केशव कार्की रहेका छन् ।

नयाँ वर्षको अवसर पारेर जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी स्वर्गद्वारी दर्शनका लागि गएको लु १ ज १६५५ नम्बरको जिप बुधबार बिहान प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ रुमाले भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

जिप सडकबाट झण्डै १ सय मिटर तल खसेको छ । जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारीको घटनास्थलमै मृत्यु भएको र प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिप चालक कार्कीको उपचारका क्रममा भिंग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

घटनामा १० जना घाइते भएका छन् । गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।