बुटवल,२६ साउन ।
बुटवल उपमहानगरपालिकाकाे मेयर युवा राेजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत ग्राफिक्स डिजाइनिङ र बेसिक एकाउन्टिङ तथा अफिस टूल एवं विद्युतीय सवारीसाधन मर्मत सम्भार सम्बन्धि तालिमका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र बितरण गरिएको छ ।

मंगलबार बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमकाबीच प्रशिक्षार्थीहरूलाई सहभागीताकाे प्रमाणपत्र बितरण गरेको हो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले नगरवासीलाई सीपसँग जाेडेर स्वराेजगार र आत्मनिर्भर बनाउने उदेश्यले बुटवल उपमहानगरपालिकाले मेयर युवा इलम कार्यक्रम अन्तर्गत विभिन्न किसिमका सीपमूलक तालिम दिदै आएको र तालिमबाट धेरै युवा स्वराेजगार बनेको बताए ।

सीप बिनाकाे शिक्षाले बेरोजगार मात्रै उत्पादन गर्ने भन्दै नगर प्रमुख पाण्डेयले आफुहरू निर्वाचित भएपछि प्राविधिक शिक्षा तथा सीपमूलक तालिममा जाेड दिएको जानकारी गराए ।

तालिममा सिकेका सीपको सदुपयोग गरि स्वराेजगार बन्न आग्रह गर्दै उनलेे प्रशिक्षार्थीहरूले सीप अनुसारको पेसा ब्यवसाय गरे नगरेको बिषयमा अनुगमन गरिने बताए ।

बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रा देवी अर्यालले बैदेशिक राेजगारीबाट फर्किएका व्यक्तिहरू,विद्यार्थी,महिलाहरूलाई स्वराेजगार बनाउने उदेश्यले उपमहानगरपालिकाले तालिम दिएको भन्दै सीप सिकेर स्वराेजगार बन्न सहभागीहरूलाई आग्रह गरिन् ।

कार्यक्रममा प्रशिक्षार्थी दीनेश घिमिरे, ऐश्वर्या कंडेल,सुनिल गाैतम,तिलकराम पाण्डे,माेहनलाल सुवेदीलगायतले तालिमले आफुहरूकाे आँखा खाेलिदिएकाे भन्दै अबको बाटो प्रशिक्षार्थीकै सकृयतामा निर्भर रहने बताए ।

बुटवल उपमहानगरपालिकाका श्रम तथा राेजगार प्रवर्द्धन शाखा प्रमुख अरविन्द पाण्डेले बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित विभिन्न किसिमका सीपमूलक तालिमले प्रशिक्षार्थीहरूमा केही गराैं भन्ने भाेक जगाइदिएकाे भन्दै अबको पाटाे प्रशिक्षार्थीहरूकाे लगनशीलता र मेहनतमा निर्भर रहने बताए ।