Share this News on Social Networking Pages

ओलीले पार्टी र कम्यूनिष्ट आन्दोलन खान्छन ः घनश्याम भुसाल
बुटवल, ३१ चैत ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अदालतले फागुन २३ गतेको निर्णयका आधारमा २०७५ जेठ २ मा फर्किए पार्टी जोगिने बताएका छन् ।

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई अझै सच्चिने मौका रहेको भन्दै उनले सर्वोच्च अदालतको फागुन २३ गतेको निर्णयका आधारमा २०७५ जेठ २ मा फर्किए पार्टी जोगिने बताए ।

नेकपा एमाले रुपन्देही विस्तारित बैठक तथा समानान्तर समिति घोषणा कार्यक्रमलाई मंगलबार बुटवलमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन ।

अहिले पनि आफूहरु एमाले पार्टीको एकता र कम्यूनिष्ट आन्दोलन बचाउनुपर्ने पक्षमा रहेको बताउदै उनले पार्टीलाई विधि विधान अनुसार चलाउनुपर्नेमा जोड दिए ।

‘प्रधानमन्त्री र अध्यक्ष दुवै स्विकार गर्न तयार छौं, तर पार्टीलाई विधि विधान अनुसार चलाउनुपर्छ’ उपाध्यक्ष ज्ञवालीले भने । उनले अदालतको फैसला अनुसार जेठ २ गतेको अवस्थामा फर्किए आफूहरुले पार्टी पुर्नगठनलाई भुल्न तयार रहेको बताए । उनले प्रधानमन्त्री ओलीका कारण मूलूकको भविष्य र कम्यूनिष्ट आन्दोलनलाई ठूलो क्षती पुगेको बताए । पार्टीभित्र हुने कुनै पनि सिस्टम ओलीले नमानेको उनको आरोप छ ।
ओलीले पार्टी र कम्यूनिष्ट आन्दोलन खान्छन ः घनश्याम भुसाल
बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले केपि शर्मा ओलीको सामथ्र्यले भ्याएसम्म एमाले र कम्यूनिष्ट आन्दोलन नै खाने टिप्पणी गरेका छन । राजस्व र राष्ट्रिय अनुसन्धान हातमा लिएका प्रधानमन्त्री ओलीले अहिले पार्टीभित्रको अधिकार हातमा लिएर पार्टी नै खान खाजेको उनको भनाई छ ।
‘मूलूक अहिले २०१७ सालमा पुष्पलालले जसरी कम्यूनिष्ट पार्टी जोगाउन लाग्नुभयो, अहिले हामी त्यहि अवस्थामा छौं’ उपमहासचिव भुसालले भने –‘हामी पार्टी बचाउँदैछौं, उहाँ (ओली) पार्टी सक्दै हुनुहुन्छ ।’
उपमहासचिव तथा पूर्वमन्त्री समेत रहेका भुसालले ओलीले पार्टी विधान विपरित जिल्ला कमिटि विघटन र गठन गर्ने सम्मको अधिकार लिएको बताए । ‘२३ गतेको निर्णयले प्रधानमन्त्री ओलीलाई बचाएको थियो, तर २८ गते आफ्नो गुटको बैठक राखेर मनलाग्दी पदाधिकारी खारेज गर्नुभयो, यहिबाट पार्टी सक्ने खेल शुरु भयो’ उनले भने । विधानले पदाधिकारी खारेज गर्न नसक्ने बताउँदै विधान सभा र अधिवेशन विना हटाउनै नसक्ने उनले बताए । उनले ओली पक्षमा लाग्नेहरु पार्टी सक्ने अभियानमा सामेल भएको टिप्पणी गरे ।

नेता भुसालले पार्टी बर्बादी हुनबाट जोगाउन र एमालेलाई ओलीको कदमबारे जानकारी दिन देशैभर पुर्नगठन गरेको बताए । उनले २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काए देशैभर गठन भएका संरचना त्यहि छाडेर जेठ २ मा फर्कन तयार रहेको समेत बताए । उनले ओलीका कारण पार्टी सिस्टम, देश र कम्यूनिष्ट आन्दोलन नै खतरामा परेको बताए । ‘हामीले गल्ती गरेका छैनौं, गल्ती तिनिहरु (ओली) गरेका छन्’ भुसालले भने । प्रधानमन्त्रीलाई दुवै पद दिदा पनि के चाहिएको त्यो रहस्य बुझ्न नसकेको उनले बताए । ‘संसद विघटन गर्नुभयो, अदालतले पुर्नस्थापना गरिदियो, तैपनि प्रधानमन्त्रीले मनलाग्दी गर्न छाड्नुभएन’ उनले भने ।