कल्पना बान्तवा
इत्रिनुसम्म इत्रेर
सन्ध्यासँग
डाँडाको घाम
पारि ओरालो झर्छ,
सातौं घोडा हराएको रन्को –
धोक्छ तिनपाने
निशाको भट्टीमा
र, त्यहीँ बेन्चीमा
अप्ठ्यारोसँग निदाउँछ
रातिँदै सरमले
चियाउँछ एकाबिहानै
नदीकिनार बाँसझ्याङबाट
देख्छ – सधैंझैं शान्त छे धरती
ऊ ग्लानीले भरिन्छ,
आफूबाटै चोइटिएकी
सुधी, सुवानी, डल्ली मोरीको
उसलाई, अग्घोरै माया लाग्छ
मनचिन्ते झोलीभित्र
सुध्रने वाचा र प्रेम–प्रतिज्ञा खोज्छ
फसेर,
इन्द्रेणीका इन्द्रजाले कुरामा
ऊ मूडी हुँदैछ
काले शनीले घुर्दा
धुँवाको तलतल लाग्छ
बेफ्वाँकमा ऊ रनक्क रन्किन्छ, कुपित हुन्छ,
राहुकेतुका नियत खराब
ट्यापे हुँला कि भनी डराउँछ
गम खान्छ,
संगत गतिलो छैन
डेन्ड्रोइड सुँघ्दै
कुन दिन ऊ
चेनस्मोकर बन्छै बन्छ
टाउको झटकार्छ,
जीम जाने सुरसार कस्छ
मरिलानु के छ र !
बेस्सरी उर्जा खपत गर्छ
स्ट्यामिना बढाउँछ
र, भरदिन –
घरतीको टाउकामा गीर खेल्छ
फटाहा बादल,
देखी सहँदैन
उसका बाइसेप्स, ट्राइसेप्स
सिक्स प्याक्सलाई
घरिघरि छेक्न आउँछ
कम्तीकी छैन,
बर्खा मोरी पनि
ट्याम-कुट्याम बर्सेर
जाज्वल्यमान उसको
तेजोवध गर्छे –
दुश्मनहरूलाई सम्झेर
घाम ‘सिक’ हुन्छ
उसमा क्रमश:
हावी हुन्छ डिप्रेसन
शक्ति क्षीण हुँदा,
कमलपित्तको रोगीझैं
थाल्छ पहेँलिन
धरती बिर्सन्छ,
धरतीको निश्छल प्रेम बिर्सन्छ
सुध्रने वाचा, कसम, किरीया
सबै भुल्छ
र, साँझ फेरि
निशाको भट्टीतिरै
ओरालो हानिन्छ ………….
साहित्यपाटीबाट