बुटवल,१६ चैत ।
बिगतमा पृथकतावादी आन्दोलन गर्दै आएका सिके राउतलाई ३५ दिन भित्र हाजिर हुन नवलपरासी अदालतले आदेश दिएको छ ।
हाल मुलधारको राजनीतिमा आएर जनमत पार्टीमार्फत गतिविधि गरिरहेका सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन आदेश दिएको हो ।
चन्द्रकान्त राउत भनेर चिनिने सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन म्याद सूचना जारी गरेको जिल्ला अदालत, नवलपरासीद्धारा जारी सूचनामा जनाइएको छ ।
न्यायाधीश ध्रुवकुमार शाहको इजलासले २१ फागुनमा पत्रिकामा म्याद सूचना प्रकाशित गर्ने आदेश दिएको थियो । पक्राउ पूर्जीसहितको म्याद सूचना प्रकाशित गरे पनि नभेटिएको भन्दै उनलाई ३५ दिन भित्र अदालतमा हाजिर हुन आदेश दिएको हो ।
अदालतले तोकेको समयमा हाजिर नभए कानून अनुसार हुने सूचनामा जनाइएको छ । राउतविरुद्ध राज्यविरुद्धको संगठित अपराध अन्तरगत दफा ४९ को नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पारेको अभियोग लगाइएको छ ।
सो मुद्दामा राउतसँगै कृष्ण यादव र कैलाश महतोलाई प्रतिवादी बनाइएको छ ।