Share this News on Social Networking Pages

दाङ,१४ चैत ।
दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं १३ बस्ने ५० वर्षीय टेकबहादुर गुरुङ रहेका छन् ।

जिल्लाको घोराही उपनगरपालिका–१२ को कमलघारी जंगल क्षेत्रमा शुक्रबार राति गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।

घटनास्थल पुग्न तीन–चार घण्टा जति पैदल हिँड्नुपर्ने तथा उक्त स्थानमा राम्रोसँग फोन सम्पर्कसमेत हुन नसक्ने भएकोले घटनाबारे थप विवरणहरु आउन बाँकी रहेको प्रहरी उपरीक्षक चन्दले बताए । घटनामा संलग्न रहेको आशंकामा एक जनालाई राति नै नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

गोली लागेर मृत्यु भएका गुरुङको शवपरीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।