Share this News on Social Networking Pages

बुटवल,१३ चैत ।
रुपन्देही गैडहवा गाउपालिकाको सातौं गाउसभा शुरु भएको छ ।

गाउँसभामा गाउपालिकाका उपाध्यक्ष सुभावती यादवको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीबी घिमिरेले गाउपालिकाको छैठौं गाउसभाबाट स्विकृत भएका तर सञ्चालन हुन नसकेका बिभिन्न १९ वटा योजना तथा कार्यक्रमहरु, २४ वटा रकमान्तरका लागि प्रस्ताबित संशोधन प्रस्ताव,थप नीति तथा कार्यक्रम र अर्धबार्षिक आय–व्यय बिबरण समेत पेश गरेका थिए ।

विधेयक अधिवेशनको रुपमा लिइने हिउदे अबिधेशनमा उपाध्यक्ष यादवद्वारा प्रस्तुत बिभिन्न ५ वटा ऐन नियम कार्यबिधी २०७७ प्रस्ताव गरिएको थियो ।
गाउसभामा प्रस्ताबित बिभिन्न संशोधन प्रस्तावहरु माथी वडा नं. १ का वडा अध्यक्ष प्रदिप कुमार चौधरी,वडा नं. २ का वडा अध्यक्ष तुल बहादुर पुन,वडा नं. ४ का वडा अध्यक्ष सुरेन्द्र कुर्मी,वडा नं. ५ का वडा अध्यक्ष कृष्ण शंकर प्रसाद गुप्ता,वडा नं. ६ का वडा अधयक्ष राम बेलास यादव,वडा नं. ८ का वडा अध्यक्ष भुवन बहादुर राना र वडा नं. ९ का वडा अध्यक्ष टेक बहादुर बलाल,वडा सदस्य लगायतले छलफलमा सहभागी हुदै गाउपालिकाले गर्ने हरेक कार्यहरु एकतर्फी र मनोमानी भएको र छैठौं गाउसभाबाट स्विकृत योजना तथा कार्यक्रमहरुको संशोधन तथा रकमान्तर गर्नु पर्नाको कारण माग गरेका थिए ।
नगर प्रहरीको संचालन तथा व्यबस्थापन समेत गर्ने गरी प्रस्तुत गरिएको सातौं गाउसभामा गैडहवा गाउपालिकाको नगर प्रहरी संचालन तथा व्यबस्थापन गर्न बनेको कार्यबिधी २०७७, गैडहवा गाउपालिकाको कर्मचारी व्यबस्थापन (सेवा शर्त सम्बन्धी) गर्न बनेको कार्यबिधी २०७७, गैडहवा गाउपालिकाको भाषा कला र संस्कृति संरक्षण गर्ने व्यबस्थापन गर्न बनेको कार्यबिधी २०७७, गैडहवा गाउपालिकाको विपद जोखिम न्यूनिकरण तथा व्यबस्थापन गर्न बनेको ऐन, २०७७ र गैडहवा गाउपालिकाको “विपद व्यबस्थापन कोष” संचालन कार्यबिधी २०७७ गरी ५ वटा ऐन नियम कार्यबिधी प्रस्ताव गरिएको छ ।

गाउपालिकाको छैठौं गाउसभाबाट स्विकृत चालु आ.व. २०७७÷०७८ को नीति तथा कार्यक्रम र योजनाको ४० प्रतिशत कार्य सम्पादन भएको गैडहवा गाउपालिकामा सातौं सभामा प्रधानमन्त्री रोजगार कार्यक्रम तथा “युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना”लाई मुर्तरुप दिन गरिबी न्यूनिकरण तथा रोजगारी अवसरमा बृद्धि गर्न सीपमुलक तालिम दिने लगायतका २१ वटा महत्वाकांक्षी योजना सहितको नीति तथा कार्यक्रमहरु प्रस्ताव गरिएको छ ।

गाउपालिका भित्र संचालित सामुदायिक विद्यालयहरु मध्ये सबै भन्दा बढी शैक्षिक उपलब्धी प्राप्त गर्ने विद्यालयलाई बार्षिक रुपमा २ लाख रुपैया सहित पुरस्कृत गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ भने विद्यालय समयावधीमा कुनैपनि शिक्षक तथा कर्मचारीहरुले कुनै राजनैतिक संघ र संगठनका कार्यक्रमहरुमा सहभागिता जनाए नियमानुसार कार्वाही गर्ने र सबै शिक्षक तथा कर्मचारीहरु अनिवार्य विद्यालय पोषाकमा प्रबेश गर्नु पर्ने लगायत थप ११ वटा नीति तथा कार्यक्रमहरु गाउसभामा प्रस्तुत गरिएको छ ।

कार्यक्रममा रुपन्देही जिल्ला समन्वय समितिका सदस्य ज्ञानु बि.क.ले हरेक स्थानीय तहका निर्वाचित जनप्रतिनीधिहरु सबै भन्दा नजिकको सभासद भएको र गाउसभामा सबै जनप्रतिनीधिहरुले टोल टोलमा देखिएको समस्याहरुलाई प्रस्तावको रुपमा प्रस्तुत गरी जनताको पक्षमा नीति तथा कार्यक्रम र योजनाहरु निर्माण गर्नु पर्ने कुरामा जोड दिइन् ।
गउपालिकाका अध्यक्ष बच्चुलाल केवटको अध्यक्षता,प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीबी घिमिरेको स्वागतमा शुरु भएको गाउसभा गाउपालिकाका प्रशासन प्रमुख रामपत मल्लाहको संचालनमा भएको थियो ।
गाउसभा आगामी २०७७ चैत्र १८ गते सम्म संचालन हुने छ ।