बुटवल, १३ चैत ।
लुम्बिनी प्रदेशको प्रदेश सभाको सातौ अधिवेशन यही चैत १८ गतेदेखि सुरु हुने भएको छ ।
अधिवेशन अन्त्य भएको ६ महिना भित्रै अर्को अधिबेशन सुरु गर्नुपर्ने संबैधानिक व्यवस्था अनुसार लुम्बिनी प्रदेश सभाको सातौ अधिवेशन यही चैत १८ गतेदेखि सुरु हुन लागेको हो ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले चैत्र १८ गते प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेसन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
गत असोज २० गते प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लागेसँगै बर्षे अधिवेशन सकिएको थियो । एउटा अधिवेशन अन्त्य भएको ६ महिनामा अर्को अधिवेशन बोलाउनैपर्ने संवैधानिक व्यवस्था छ ।
चैत २० गते ६ महिना पुग्नै लाग्दा १८ गते वैठक आह्वान गरिएको हो । अघिल्ला वर्ष हिउँदे अधिवेसन माघ महिनामै आह्वान भएपनि यो वर्ष मुलुकको केन्द्रीय राजनीतिमा आएको उतार चढावका कारण ढिलाई भएको हो ।
लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीले एउटा अधिवेशन अन्त्य भएको ६ महिनामा अर्को अधिवेशन बोलाउनैपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा अधिवेशनको तयारी भएको जानकारी दिए ।
प्रदेश सभाको सातौं अधिवेशनमा यसअघि पेश भएर पारित हुन बाँकी रहेका ३ विधेयकमाथि छलफल हुने छ ।
प्रदेश सरकारले छैठौं अधिवेशनमा पेश गरेका १० विधेयक मध्ये ५ विधेयक पारित भएको छ भने २ विधेयक बिषयगत समितिमा दफावार छलफल सकिएर सभामा पेश हुने क्रममा रहेको छ ।
३ वटा विधेयकमाथि भने छलफल हुन बाँकी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।