बुटवल,१२ चैत ।
नेकपा माओवादी केन्द्रले पार्टी छाडेर नेकपा एमालेमा गएकाे भनिएका लुम्बिनी प्रदेशसभाका आफ्ना दुई सांसदलाई स्पष्टीकरण सोधेको छ ।

बिहीबार बसेको संसदीय दलको वैठकले सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई स्पष्टीकरण साेध्ने निर्णय गरेको हो ।
उनिहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । न्यौपाने र पन्थी हालै मात्र नेकपा एमालेमा लागेका थिए ।
उनीहरुलाई एमाले अध्यक्ष केपी ओलीले फागुन २८ गते केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सभामुखसहित माओवादी केन्द्रका २० सांसद छन् ।

माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रमुख सचेतकमा तुलाराम घर्ती र सचेतकमा पार्वती पुन गहतराजलाई चयन गरेको छ । बिहीबार संसदीय दलका नेता कुलप्रसाद केसीको अध्यक्षतामा बैठक बसेको थियो ।