Share this News on Social Networking Pages

बुटवल, ७ चैत ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व अर्थमन्त्री डा. रामशरण महतले मुलुक फेरी मध्यावधि निर्वाचनमा जान सक्ने बताएका छन् ।

यही सरकार कायम रहे वा अर्को सरकार बने पनि मध्यावधि निर्वाचन हुन सक्ने उनको भनाई छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता डा. महतले एक भन्दा धैरै पार्टीको सरकार बन्दा संसदमा विश्वासको मत प्राप्त नभए निर्वाचन हुन सक्ने बताएका हुन् ।

नेपाली कांग्रेसले आफ्नो संगठन सुधार गरेर जानुपर्ने भन्दै उनले पार्टीलाई एकतावद्ध बनाउदै गुटभन्दा माथि उठेर सबैभन्दा ठूलो पार्टी बनाउनुपर्नेमा जोड दिए ।

देशलाई कांग्रेसले नै अगाडी बढाएको बताउदै महतले आगामी निर्वाचनमा पार्टीले सरकारको नेतृत्व लिने गरी अगाडी बढ्नुपर्ने आवस्यकता औल्याए ।

अहिले मुलुकको राजनीति अत्यन्तै दुःखद र अप्ठ्यारो स्थितिमा रहेको भन्दै उनले बताए २०७२ सालमा कांग्रेसकै नेतृत्वमा संविधान बनेको र संविधान अनुसार भएको निर्वाचनमा कांग्रेस पछाडी पर्नु दुखद भएको बताए ।

मुलुकमा राजनीतिक क्रान्ति, पद्दति र जनआन्दोलनको सफल नेतृत्व कांग्रेसले गरेको भन्दै नेता महतले
कम्युनिष्ट पार्टी एक भएर निर्वाचनमा गएको र आफ्नै केही कमीकमजोरीले कांग्रेस पछाडी परेको बिचार व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेकोले सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेको भन्दै डा. महतले कम्युनिष्ट सरकारको गतिविधिले उक्त पार्टी बदनाम भइसकेको र कांग्रेसलाई भोट नदिनेलाई पनि अलिकति पश्चाताप भएको दाबी गरे ।

संविधानको सही कार्यान्वयनमा पार्टीले विश्वास गर्ने भएकोले कांग्रेसले संसद विघटन गर्ने कदमको विरोध गरेको उनले बताए ।
‘न्यायपालिकालाई सरकारबाट ठूलो दबाब थियो, स्वयं प्रधानमन्त्रीले संसद् पुनस्थार्पना भए आन्दोलनमा जाने घोषणा गर्नुभयो, लोकतान्त्रिक व्यवस्थामा न्यायपालिका स्वतन्त्र हुनुपर्छ, कार्यपालिकाको प्रभावमा न्यायपालिकाले निर्णय गर्नुहुँदैन, ’उनले भने ।

वर्तमान सरकारले गलत काम गर्दै गएको बताउदै उनले फलानोसंग मिलेर सरकार बनाउने भन्दा पनि विषयगत सहमति हुने पार्टीसंग मिलेर कांग्रेस अगाडी बढ्ने बताए । सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ भन्ने आवाज रहेको तर सरकारमा रहेको एउटा पार्टीले समर्थन फिर्ता नगरे सरकार नढल्ने बताए । अलगअलग पार्टीको रुपमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकारमा सहभागि भए पनि माओवादीले समर्थन फिर्ता नलिएको उनको भनाइ छ । कांग्रेसले सरकारको सन्दर्भमा यही गर्ने हो भनेर निर्णय नगरेको डा. महतले बताए ।

नेकपा भित्रको आन्तरिक संघर्षका कारण मुुलुकमा संकट आएको भन्दै मुलुकलाई संकटबाट मुक्त गर्न आवश्यकता रहेकोमा उनले जोड दिए । सरकारले जथाभावी खर्च गरेको उनले आरोप लगाए । प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसालको अध्यक्षता तथा सचिव श्यामशंकर पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।