बुटवल,६ मंसिर ।
नेपाली कांग्रेस देउवा समुहका नेता डा. शशांक कोइरालाले कांग्रेस एकजुट भएर अघि बढे कसैले हराउन नसक्ने बताएका छन् ।

आइतबार भैरहवामा आयोजित नेपाली कांग्रेस देउवा समूहको रुपन्देही जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले कांग्रेसलाई कांग्रेसकै नेताकार्यकर्ताले हराउने गरेको बताए । नेताहरूको ध्यान पद र पैसाभन्दा राष्ट्रको विकासमा केन्द्रित हुनुपर्नेमा उनले जाेड दिए ।

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मेडिकल कलेज, विश्वविद्यालय, सडक तथा हवाई सेवाको विस्तार भएको स्मरण गर्दै उनले कांग्रेसको इतिहास र सिद्धान्त बलियो रहेको बताए ।

उनले धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रताको पक्षमा आफ्नो धारणा स्पष्ट रहेको बताए ।

कार्यक्रममा कांग्रेसका पूर्वउपसभापति तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिले संविधानको रक्षा र सफल कार्यान्वयनमा जोड दिए । उनले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र कांग्रेसको सुझबुझबाट संविधान जारी भएको बताए । पूर्वमन्त्री एनपी साउदले नेता परिस्थिति, मुद्दा र आवश्यकताले निर्माण गर्ने बताए ।

अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ ।