काठमाडौँ,२९ असाेज ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैडाकोटस्थित सामुदायिक वनमा रहेको चिहानबाट शव निकालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
असोज २४ गते गैँडाकोट नगरपालिका ४ रानीताल बस्ने ४९ वर्षीया कनिमाया गुरुङको मृत्यु भएको थियो । गुरुङको शव गैडाकोट सामुदायिक वनमा खाडल खनी पुरेर आफन्तले अन्तिम संस्कार गरेका थिए ।
त्यसको दुई दिनपछि असोज २६ गते बिहान ७ बजे आफन्त समाधीस्थलको माटो लिन जाँदा शव निकालिएको अवस्थामा आफन्तले फेला पारेका थिए ।
आफूहरुले पुरेको शव खाडलमा खुल्ला अवस्थामा रहेको भन्दै उनीहरूले अनुसन्धान गरी कारबाहीको माग गर्दै नवलपरासी पूर्व प्रहरीमा सूचना दिएका थिए ।
त्यसपछि खटिएको प्रहरीले अनुसन्धान गर्दा तनहुँ देवघाट गाँउपालिका ५ घर भई गैडाकोट नगरपालिका ४ रानीताल बस्ने ३१ वर्षका शिव भन्ने शक्ति परियारले शव बाहिर निकालेको खुलेको थियो ।
परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ। अनुसन्धानका लागि जिल्ला अदालतले पहिलो पटक ७ दिनको म्याद दिएको प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।






