कपिलवस्तु,२९ असोज ।
कपिलवस्तुमा मन्दिरमा चढाएको घण्टी चोरी गरी किनबेच गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको शुद्धोधन गाउँपालिकाको एक मन्दिरबाट तीन वटा घण्टी चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा भाँडा पसलबाट साना–ठुला गरी ३५ थान पित्तलका घण्टी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए ।

शुद्धोधन गाउँपालिका–२ नौडिहवास्थित दुर्गा मन्दिरमा असोज २६ गते राति तीन वटा घण्टी चोरी भएका थिए ।

घटनाबारे असोज २७ गते अपराह्न प्रहरी चौकी लवनीमा जानकारी आएपछि प्रहरी वरिष्ठ नायब निरीक्षक राजीव श्रेष्ठको कमान्डमा टोली घटनास्थल पुगेको थियो ।

घटनामा संलग्न भएको आरोपमा शुद्धोधन गाउँपालिका–१ बगदीका १८ वर्षीय इबरार अहमद मुसलमान (खान)लाई स्थानीयले नियन्त्रणमा लिएर राखेका थिए ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पकडी पठाएको थियो ।

चोरीमा संलग्न शुद्धोधन गाउँपालिका–२ भुसुडीका २५ वर्षीय चन्द्रप्रसाद यादवलाई पक्राउ गरेको छ ।

इबरारसँग सोधपुछ गर्ने क्रममा चोरीका घण्टी शुद्धोधन गाउँपालिका–३ लवनीस्थित ऋषि भाँडा पसलमा बिक्री गरेको खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीले पसल सञ्चालक दिनेशकुमार कान्दुलाई पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पठाएको छ । घटनामा संलग्न एक जना फरार रहेको र उनको खोजि भइरहेको प्रहरीले जनाएको छ ।