बुटवल,२९ असाेज ।
राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशव सुर्यवंशीले सरकारले छ महिने अवधिमा कार्यदक्षता, जनआकांक्षा र राष्ट्रिय आवश्यकता तर्फ सन्तोषजनक कार्य गर्न नसकेको भन्दै अबकाे ६ महिनामा परिस्थिति यस्तै रहे घोर राष्ट्रिय निराशाको वातावरण वन्ने प्रष्ट प्राय निस्चित रहेको तर्फ सरकार र सत्तासीन दलकाे ध्यानाकर्षण गराएका छन् ।
रूपन्देहीमा सम्पन्न पार्टीको १२ औं राष्ट्रिय भेलाले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुर्यवंशीले राष्ट्रिय भेलामा पार्टीको सांगठनिक गतिविधिका साथै सरकारकाे छ महिने कार्यकालको समिक्षा गरिएको जानकारी गराउँदै यो अबधिमा सरकारले जनतामा ब्याप्त निरासालाई चिर्ने कुनै काम गर्न नसकेको बताए ।
जेन जी आन्दोलनको मूख्य माग नै भ्रष्टाचारको अन्त्य हुनुपर्ने रहेको स्मरण गराउँदै उनलेे भ्रष्टाचारको अन्त्यलाई राष्ट्रिय कार्यनीति बनाउनका लागि सर्वप्रथम संघीय संसदले भ्रष्टाचारलाई राष्ट्रिय अपराध र भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्दै भ्रष्टाचार विरुद्ध पूर्ण स्वायत्त र अधिकार सम्पन्न भ्रष्टाचार उन्मूलन आयोग गठन गर्ने, भ्रष्टाचारको मुद्धा ढिलोमा पनि श्वर्ष भित्र अनिवार्य रूपमा छिनोफानो हुने व्यवस्थालाई राष्ट्रिय संकल्पको रूपमा घोषणा गरि सरकारलाई तत्काल कार्यादेश दिनु पर्नेमा जाेड दिए ।
ऋण लिएर बिकास खर्च गर्ने मुलुकमा दुई दिने बिदा अब्यबहारिक र अनुपयुक्त भएको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले साे बिदा तत्काल खारेज गर्न माग गरेको छ ।
देशमा हरेक पटक संविधान जारी गर्दा योजनाबद्ध रूपमा नेपाली नागरिकताको दायरा फराकिलो/खुकुलो पार्दै जाने तर विविध कारणले प्रवासमा रहेका नेपालीहरूलाई गैर नेपाली बनाउने राष्ट्रिय नीति कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने भन्दै साे पार्टीले स्वेच्छिक रूपमा आफ्नो नागरिकता त्याग्न नचाहने कुनै पनि प्रवासी नेपालीको नेपाली नागरिकताको अधिकार हरहालतमा सुनिश्चित रहने ग्यारेन्टी राज्यले गर्नु पर्ने जनाएको छ ।
राजनीतिक र सैन्य प्रयोजनका लागि गोर्खा नामाकरण गरीएका नेपालीहरूको दुई सय वर्ष भन्दा बढीको अविछिन्न योगदानको जगमा नेपाल एक सार्वभौम र स्वतन्त्र राष्ट्रको रूपमा विश्व मानचित्रमा रहन सफल भएको महत्वपूर्ण पाटोलाई राज्यले उच्च सम्मान गर्नु पर्नेमा जाेड दिदै साे पार्टीले यसको लागि संघीय संसदले राजनितीक कृतज्ञता प्रस्ताव घोषणा गर्दै, बिदेशमा रहेका गोर्खा र तिनको सन्ततिलाई वंशजको नागरिकताको सुनिश्चितता हुने प्रस्ताव पारित गर्नू न्याय संगत र दिर्घकालीन राष्ट्रिय हितको लागि समेत ठोस कदम हुने उल्लेख गरेको छ ।
कार्यक्रममा पार्टीका महासचिव टाेप अस्लामीले सुशासनको दुहाई दिएर पाएकाे प्रचण्ड बहुमतकाे सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने भन्दा पनि स्टन्ट मात्रै गरेको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि ठाेस कदम चाल्न सरकारसँग माग गरे ।
साे अवसरमा पार्टीका सचिव माेजिव अलीले राष्ट्रिय भेला सफलतापूर्वक सम्पन्न भएको भन्दै भेलाले संगठनलाई थप गतिशील बनाउने मार्गदर्शन गरेको जानकारी गराए ।






