कपिलवस्तु,२९ असोज ।
२५ बौद्ध भिक्षुले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि कपिलवस्तुको निग्रोधाराम (कुदान) सम्म ‘शान्ति पैदलयात्रा’ गरेका छन् ।

थाइल्यान्डबाट आएका भिक्षुले शान्तिको कामना गरेका हुन् । रोयल थाई मोनास्ट्री लुम्बिनीका प्रमुख भिक्षु सुपोतको नेतृत्वमा भिक्षुहरूले शान्तिको सन्देश प्रवाह गर्दै पैदलयात्रा गरेका हुन् । विश्वमा शान्ति, सद्भाव र आपसी भाइचारा कायम गर्न यात्राको आयोजना गरिएको प्रमुख भिक्षु सुपोतले बताए ।

निग्रोधाराम बौद्ध धर्मावलम्बीका लागि ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थल हो । भगवान् गौतमबुद्धले बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु आउँदा आफ्ना छोरा राहुललाई पहिलोपटक भेटेको स्थलका रूपमा निग्रोधारामलाई लिने गरिन्छ ।

वाट थाई नेपालका सचिव राजेश ज्ञवालीका अनुसार निग्रोधाराम भगवान् गौतम बुद्धसँग सम्बन्धित महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक स्थल हो । बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु फर्किएका गौतम बुद्धले यही स्थलमा आफ्ना छोरा राहुललाई पहिलोपटक भेटेकाे धार्मिक मान्यता छ ।

सचिव ज्ञवालीले बुद्धका शान्ति, करुणा, मैत्री र अहिंसाका सन्देशलाई विश्वभर फैलाउन यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले लुम्बिनीदेखि निग्रोधाराम सम्मको पैदल यात्राले बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थलको धार्मिक तथा पर्यटकीय महत्व उजागर गर्नसमेत सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

बुद्धका शान्ति, अहिंसा, करुणा र मैत्रीका सन्देशलाई विश्वभर फैलाउन गरिएको पैदलयात्राले बौद्ध पर्यटन प्रवर्द्धन तथा लुम्बिनी र कपिलवस्तुबीचको धार्मिक सम्बन्धलाई थप उजागर गर्ने भिक्षुहरुकाे विश्वास छ ।