पाल्पा,११ असोज ।
लगातारको बर्षापछि पाल्पाको माथागढीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् ।
पाल्पाको माथागढी गाउँपालिका-२ रुप्सेमा गएराति पहिरोले घर पुरिँदा ७५ वर्षीय शेरबहादुर चिदी घाइते भएका थिए । पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका चिदिलाई उद्धार गरी उपचारका लागि स्वास्थ्यचौकी पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको वडाध्यक्ष वोमबहादुर ठाडामगरले जानकारी दिए ।
पहिरोले घर पुरिने समयमा चिदीकी श्रीमती भने शौच गर्न गएका कारण सकुशल रहेको उनले बताए ।
अविरल वर्षाका कारण पहिरोले माथागढी गाउँपालिका-३ भैसेक्ट्टामा दुई घर पुरिएको छ । पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
स्थानीय लिलबहादुर घर्ती मगरको घरमाथि आइतबार बिहान करिब साढे ४ बजे पहिरो खसेको हो ।
पहिरोले घर पुरिँदा ७५ वर्षीय लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएको प्रहरीले जनाएको छ ।
वडा अध्यक्ष तेजबहादुर घर्तीमगरका अनुसार पहिरोमा परेकाको उद्धारका लागि जनप्रतिनिधि,नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुगेका छन् ।
ठूलो पहिरो भएकाले उद्धारमा समय लाग्ने माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताए ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।






